काठमाडौँ – प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले जातीय अहङ्कारले समाजमा द्वन्द्व निम्त्याउने बताएका छन् । पोखरा महानगरपालिका–३२ स्थित रुपा विश्वकर्मा सेवा समाजको दुईतले समाज घरको उद्घाटन गर्दै सांसद अधिकारीले जातीय विभेद संविधान विरोधी कार्य भएकाले यसले समाजमा द्वन्द्व सिर्जना गर्ने बताए ।


ADVERTISEMENT


पूर्वस्वास्थ्यमन्त्रीले भने, “जातीय र धार्मिक विभेद संविधानविरुद्धका काम हुन् । यदि कोही कसैले यसो गरेको खण्डमा राज्यले कसैलाई पनि छाड्दैन ।” नेता अधिकारीले जातीय एवं धार्मिक समानता र स्वतन्त्रतासहितको समाजवादोन्मुख संविधान निर्माण गरिएकाले अब यसको कार्यान्वयन पक्षमा सबैले चासो दिएर अघि बढ्नुपर्नेमा जोड दिए ।


ADVERTISEMENT

# # #


कार्यक्रममा गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले कानूनले मात्रै पनि सबै समस्याको समाधान नभएको बताउँदै समाज परिवर्तनका लागि सामाजिक चेतना स्तर पनि माथि उठाउनुपर्नेमा जोड दिए । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले विभेद र हिंसारहित समाजका लागि गाउँपालिका सधैँ अग्रसर हुने बताए ।

विश्वकर्मा सेवा समाजका केन्द्रीय अध्यक्ष गणेश बराइलीले दलित समुदायको विषयलाई अझै पेचिलो बनाउँदै लैजानुपने औँल्याए । समाजका अध्यक्ष राजु सुनारका अनुसार भवन निर्माणका लागि रु ५८ लाख २० हजार लागत लागेको छ । स्थानीयस्तरमा देउसीभैलो एवं चन्दा सङ्कलन गरेर तथा सांसद विकास कोष, सहकारी विकास कोष, गण्डकी प्रदेश, पोखरा महानगरपालिका, रुपा गाउँपालिका, साबिक रुपाकोट गाविस, साबिक लेखनाथ नगरपालिकालगायतको सहयोगमा भवन निर्माण गरिएको जनाइएको छ । रासस