विराटनगर – प्रदेश नं १ ले १३ औँ दक्षिण एशियाली खेलकुद (साग) मा पदक विजेता प्रदेश नं १ का खेलाडीहरुलाई नगदसहित सम्मान गरेको छ ।


ADVERTISEMENT


साग प्रतियोगितामा पदक विजेता प्रदेश १ का खेलाडीहरुलाई नगद पुरस्कार सहित सम्मान गर्ने घोषणा गरेको थियो । उक्त घोषणा अनुरुप आज एक कार्यक्रमका बीच प्रदेश सरकारले खेलाडीहरुलाई सम्मान गरेको हो । पदक विजेता खेलाडीहरुको बैंक खातामै नगद पुरस्कार जम्मा गरिदिएको प्रदेश सरकारले आज उपलब्ध खेलाडीहरुलाई सम्मान समेत गरेको हो ।


ADVERTISEMENT

# # #


सागमा प्रदेश १ का ९८ जनाले पदक प्राप्त गरेका थिए । कतिपय खेलाडीहरु विभिन्न विधामा पदक प्राप्त गर्दा दोहोरिएका कारण ८८ जना खेलाडीहरुलाई प्रदेश सरकारले पुरस्कार सहित सम्मान गरेको हो । पदक प्राप्त खेलाडीहरुलाई ८० लाख नगद उनिहरुकोे खातामा जम्मा गरिदिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उक्त अवसरमा मुख्यमन्त्री शेरधन राईले खेलकुद क्षेत्रलाई प्रदेश १ सरकारले उच्च प्राथमिकता दिएको बताए । खेलकुद क्षेत्र नयाँ ढंगले अगाडि बढेको उल्लेख गर्दै उनले भने, ‘हामीले प्रदेशमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिएका छौं ।’ खेलाडीहरुले देशको इज्जत, प्रतिष्ठा र शान बढाएको उल्लेख गर्दै मुख्यमन्त्री राईले प्रदेश १ लाई खेलकुद क्षेत्रको राजधानी बनाउने संकल्प प्रदेश सरकारले लिएको बताए ।

उनले भने, ‘खेलकुद क्षेत्रलाई प्राथमिकताका आधारमा बजेटहरु विनियोजन गरिएको छ । तपाईहरुप्रति सरकारले ठूलो आशा, भरोसा राखेको छ, खेलकुद क्षेत्र अब छाँयामा पर्देन ।’

यसैबीच कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले खेलकुदलाई पेशाको रुपमा लिनु पर्ने धारणा राखे । साग पदक विजेता खेलाडीहरुका कारण प्रदेश सरकार गौरवान्वित भएको भन्दै मन्त्री घिमिरेले खेलकुदलाई जीविकोपार्जनको माध्यम रुपमा समेत लिनु पर्नै बताए ।

सम्मान र पुरस्कार प्राप्त गरेपछि खेलाडीहरुले प्रदेश सरकारले गरेको सम्मानबाट आफूहरुको खेल क्षेत्रमा हौसला बढेको बताए ।