काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालमा आफ्नो सक्रियता बढाएकी छिन् । उनले नेपाली राजनीतिमा देखिएको अस्थिरता अन्त्य गर्ने नाममा विभिन्न दलका नेताहरु (विशेषगरी नेकपाका), उद्योगी–व्यापारी तथा सरकारका मन्त्रीहरुलाई गोप्य रुपमा भेट्ने गरेको खुलेको हो ।


ADVERTISEMENT


यान्छीले आइतबार साँझ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसंग उनकै घरमा गएर भेटेर छलफल चलाए पनि त्यसअघि नै यान्छीको सक्रियता दिनानुदिन बढिरहेको थियो ।


ADVERTISEMENT

# # #


उनले फुटको संघारमा पुगेको नेकपालाई जीवनदान दिनका लागि सक्रियता बढाएकी हुन् । उनले यसअघि नेकपा एकता हुँदा जसरी सक्रियता देखाएकी थिइन् त्योभन्दा बढी सक्रियता अहिले देखाएको नेकपाकै एक नेताले बताए ।

उनले भने, ‘जगै कस्तो भयो पार्टीको खोइ हरेक कुरा अरुले नै मिलाइदिनु पर्ने । लडाईँ आफ्नो हतियार अर्काको जस्तो भो ।’

राजदूत यान्छीले ठमेलको छायाँसेन्टरमा रहेको एलफ्ट होटलमा विभिन्न व्यक्तिहरुलाई भेट्ने गरेको स्रोतको दावी छ । होटल व्यवस्थापन निकट स्रोतका अनुसार एलफ्ट होटलको बुक गरिएको सुइट रुममा राजदूत यान्छीले विभिन्न व्यवसायीसंगै नेकपाका नेताहरुलाई पहिले देखिनै भेट्ने दावी गरिएको छ ।

उनले आफू प्रत्यक्ष देखिएको नपाइयोस् भनेर चिनियाँ व्यापारी र विभिन्न व्यक्तिहरुलाई परिचालन गर्ने गरेको पनि पाइएको छ ।

उनी चिनियाँ दूवावासको गाडी चढेर भन्दा निजी गाडीमा हिँड्ने गरेको पनि पाइएको छ । चिनियाँ झण्डा लिएर हिँड्दा धेरैको आँखा पर्ने भएकाले निजी सवारीमा हिँड्ने गरेको स्रोतको दावी छ ।

उनले नेतादेखि मन्त्रीसम्मलाई औपचारीकसंगै भूमिगत शैलीमा अनौपचारीक रूपमा भेटिरहेकी छिन् । सोही छायाँ सेन्टरमै चिनियाँ लगानीमा क्यासिनो समेत रहेको छ ।

चिनियाँहरुको ओहरदोहर बढी हुने भएकाले छायाँ सेन्टरलाई नै अखडा बनाएको दावी गरिएको छ । लकडाउनका कारण क्यासिनो नचले पनि रेष्टुरेन्ट भने खुल्लै रहेको छ ।