काठमाडौँ — सरकारले तत्काल कुनै निर्णय नलिए लगातार दुई आर्थिक वर्षमा एक सय कामदार पठाउन नसकेका ३ सय ८० वटा वैदेशिक रोजगार कम्पनी (म्यानपावर) खारेज हुने भएका छन् । वैदेशिक रोजगार विभागले एक सय कामदार पठाउन सक्ने कम्पनीको मात्रै नवीकरण गरेको छ । असार मसान्तभित्र नवीकरण नहुने कम्पनीले कामदार पठाउन पाउने छैन ।


ADVERTISEMENT


विभागका प्रवक्ता भोलानाथ गुरागाईंले वैदेशिक रोजगार ऐनअनुसार एक सय कामदार नपठाउने कम्पनीको नवीकरण गर्न नमिल्ने बताए । ‘कानुनमा जे व्यवस्था छ, त्यसैलाई हामीले कार्यान्वयन गर्ने हो,’ उनले भने ।


ADVERTISEMENT

# # #


संशोधित वैदेशिक रोजगार ऐनको दफा १३ (घ २) मा लगातार दुई वर्षसम्म वार्षिक एक सय जना पनि कामदार पठाउन नसके विभागले इजाजतपत्र रद्द गर्न सक्ने व्यवस्था छ । यसमा नियमावलीले थप व्याख्या गर्दै ‘पछिल्लो दुई आर्थिक वर्षमा प्रत्येक वर्ष कम्तीमा एक सय जना कामदार वैदेशिक रोजगारमा पठाएको प्रमाणित हुने कागजात’ असार मसान्तभित्र पेस गरे मात्रै नवीकरण गर्ने भनेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यससम्बन्धी मन्त्रिपरिषद्मा दुईवटा प्रस्ताव पेस गरेको जनाएको छ । श्रम प्रवक्ता सुमन घिमिरेले भने, ‘ऐनमा आवश्यक दफा संशोधन गर्ने वा विद्यमान व्यवस्थाका आधारमा तत्कालका लागि छुट दिने भन्ने दुई प्रस्ताव पठाइएको छ । यसमा निर्माण हुन बाँकी छ ।’ ऐन संशोधन गर्न लागि संसद् अधिवेशन अहिले चलेको छैन ।