काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले चिनियाँ अतिक्रमणमा परेका नेपाली भूभाग फिर्ता ल्याउन र सीमा स्तम्भ व्यवस्थापनका लागि संघीय संसदमा संकल्प प्रस्ताव दर्ता गरेका छन् ।


ADVERTISEMENT


कांग्रेसका सांसद देवेन्द्र राज कँडेल, सत्यनारायण शर्मा खनाल र सञ्जयकुमार गौतमले बुधबार प्रतिनिधिसभाका सचिवलाई संकल्प प्रस्ताव पेश गर्नका लागि अनुमति मागेका हुन् । नेपाल–चीनबीचको सीमामा रहेका ९८ वटा सीमा स्तम्भमध्ये केही स्तम्भ हराएका र केही नेपालभित्र सारेर चीनले नेपाली भूभाग अतिक्रमणमा गरेकाले त्यसबारेको सत्यतथ्य सरकारले संसदलाई जानकारी गराउनु पर्ने भन्दै संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।


ADVERTISEMENT

# # #


चीनसँग सीमा जोडिएका संखुवासभा, सिन्धुपाल्चोक, दोलखा, रसुवा, गोरखा र हुम्लाका ६४ हजार हेक्टर भन्दा बढी क्षेत्रफल चिनियाँ अतिक्रमणमा परेको र गोरखाको सीमानामा पर्ने ३५, ३७ र ३८ नम्बर सीमा स्तम्भ र सोलुखुम्बुको नम्पा भञ्ज्याङ्गमा पर्ने ६२ नम्बरको सीमा स्तम्भ हराएको उनीहरुले बताएका छन् । यस्तै गोरखामा चीनले सीमा स्तम्भ नेपालभित्र सार्दा ७२ घरधुरीका एउटा गाउँ नै चीनमा परेकोले त्यसबारे सत्यतथ्य संसदमा जानकारी गराउन माग गरेका छन् ।

‘गोरखाको ३५ नम्बरको सीमा स्तम्भलाई चीनले नेपालभित्र सारेकाले उत्तरी गोरखाको रुई गाउँ चीनको अतिक्रमणमा पर्दा ७२ घरधुरी चीनको स्वसाशित क्षेत्र तीब्बतमा पर्न गएको छ ।’ संकल्प प्रस्तावमा भनिएको छ, ‘त्यस्तै दाचुर्लाको जीउजीउ भन्ने स्थानका १८ घरसमेत चिनियाँ अतिक्रमणमा परेका छन् ।’

चिनियाँ अतिक्रमणमा परेका नेपाली भूमि वार्ताको माध्यमबाट फिर्ता ल्याउन र अतिक्रमणमा परेका भूुभाग र गाउँको अवस्थाका बारेमा सत्यतथ्य सदनलाई जानकारी गराउन भन्दै उनीहरुले संकल्प प्रस्ताव दर्ता गरेका छन् ।

सङ्कल्प प्रस्ताव सचिवालयमा दर्ता भएको सात दिन पछिको बैठकमा छलफल गर्न सकिने कानुनी व्यवस्था रहेको छ ।