काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ प्रमाणीकरण गरेकी छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभाबाट दुई तिहाई बढी मतले पारित भएको आएको विधेयकलाई बिहीबार राष्ट्रियसभाले सर्वसम्मत रुपमा पारित गरेसँगै राष्ट्रपति भण्डारीले आजै विधेयक प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७४ को उपधारा (१०) बमोजिम विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरि प्रसाद दहालले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै भारतीय अतिक्रमणमा रहेका नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्र अब नेपालको संविधानमा समेटिएको छ । संविधानको अनुसूचि ३ मा नेपालको नक्सासहितको निसान छाप रहेको छ । अब यसअघि रहेको निसान छापमा लिम्पियाधुरा क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा अद्यावधिक भएको छ ।

संविधानको धारा २७४ को उपधारा ८ अनुसार संविधान संशोधन गर्न संसदका दुबै सदनमा कम्तीमा दुई तिहाई मत आवश्यक पर्छ । यसरी पारित भएर आएको संशोधन विधेयकलाई राष्ट्रपतिले प्राप्त भएको १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । राष्ट्रपति भण्डारीले आजै संसदबाट पारित भएर आएको विधेयकलाई प्रमाणीकरण गरेकी हुन् ।