काठमाडौँ – नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमसिसी पास भए अमेरिकी सेना नेपाल पस्ने कुरा निराधार भएको बताए ।


ADVERTISEMENT


काँग्रेस झापाले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले एमसिसी पारित भए अमेरिकी सेना नेपाल पस्छ भन्ने हल्ला निराधार हो भने । प्रवक्ता शर्माले भने, “अमेरिकाले विश्वका कुनै पनि मुलुकमा अनुमति मागेर प्रवेश गरेको छैन, इराकमा पनि अनुमति लिएर प्रवेश गरेको होइन । अमेरिकी सेना पस्ने हल्ला निराधार हो ।”


ADVERTISEMENT

# # #


सुनेको भरमा टिप्पणी गर्ने प्रचलनले एमसिसी गलत हो भन्ने आमजनधारणा बनेको उनको भनाइ थियो । “अक्षरशः पढ्नुस्, अनि एमसिसी सम्झौता कार्यान्वयनका बारे धारणा बनाउनुस्, यो राष्ट्रिय हितमा भए हितमा छ भन्नुस्, नभए छैन भन्नुहोस्”, उनले भने, “सुनेको भरमा धारणा बनाउनु हुँदैन ।” मुलुकको विद्युत् प्रसारण लाइन विस्तार, उत्पादित बिजुली बिक्री–वितरणका लागि एमसिसी परियोजना लाभदायी हुने उनको भनाइ थियो ।

प्रवक्ता शर्माले सरकारले कोरोना परीक्षणमा प्रभावकारी कार्य गर्न नसकेको आरोप पनि लगाए। यता, कोरोना सङ्क्रमणको जोखिमबाट जनधनको सुरक्षा गर्न माग गर्दै नेपाली काँग्रेस झापाले सरकारलाई ज्ञापनपत्र बुझाउने भएको छ । केन्द्रीय समितिको निर्देशनबमोजिम काँग्रेस झापाले असार २ गते जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउने निर्णय गरेको पार्टीका झापा सभापति उद्धव थापाले बताए ।