काठमाडौँ, फागुन २३ । आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छाप्ने जिम्मेवारी जनक शिक्षा सामग्री केन्द्रलाई दिएको छ । विद्यालय तहका पाठ्यपुस्तक पनि समयमा छाप्न नसकिरहेको जनक शिक्षा सामग्री केन्द्रलाई निर्वाचनका लागि मतपत्र छाप्ने जिम्मेवारी पनि थपिएको हो ।


ADVERTISEMENT


केन्द्रले ३५ दिनभित्रै एक करोड ५० लाख मतपत्र छाप्नुपर्नेछ । आयोगले केन्द्रलाई मतपत्र छाप्न तयारी अवस्थामा रहन निर्देशन दिएपछि केन्द्रको चटारो बढेको हो ।


ADVERTISEMENT

# # #


केन्द्रका निर्देशक कपिलदेव लामिछानेले निर्वाचनका लागि आयोगले १ करोड ५० लाख मतपत्र छाप्न निर्देशन दिएको बताए । चैत ५ देखि वैशाख १३ गतेसम्ममा सम्पूर्ण मतपत्र छापिसक्नुपर्ने पत्र निर्वाचन आयोगबाट आएको उनले जानकारी दिए ।

विद्यालयका लागि पाठ्यपुस्तक समयमा छाप्न नसकेको जनक शिक्षाले समय सीमाभित्रै मतपत्र छाप्न सक्नेमा सरोकारवालाहरू भने आशंका व्यक्त गर्छन् । निर्देशक लामिछाने भने केन्द्रको कार्यक्षमतामा शंका नगर्न आग्रह गर्छन् । “३० दिनमै मतपत्र छापेर भ्याइन्छ । संविधानसभा चुनावका लागि २४ दिनमा ३ करोड मतपत्र छापेको हाम्रो अनुभव छ,” उनले भने । १ करोड ५० लाख मतपत्र समयमै छापिसक्न दैनिक ५ लाखका दरले छाप्नुपर्ने उनले बताए ।

निर्वाचन आयोगले जनक शिक्षालाई मतपत्र छपाइका लागि केन्द्रको छापाखाना मर्मतसम्भार गर्नुपर्ने भए यथाशिघ्र गरी चालु अवस्थामा राख्न निर्देशन दिएको छ ।

छपाइ मेसिनहरूको सर्भिसिङ र केहीका पार्टपुर्जा बदल्नुपर्ने निर्देशक लामिछानेले बताए । दुई दिन बन्द गरेर मेसिन मर्मत र पार्टपुर्जा बदल्ने काम भइरहेको उनले जानकारी दिए । निर्वाचन आयोगले मतपत्र छाप्न भनेरै केन्द्रलाई चारवटा नयाँ छपाइ मेसिन उपलब्ध गराएको छ ।

डेढ करोड मतपत्र छपाइमा लाग्ने खर्च भने केन्द्रले निकालिसकेको छैन । निर्वाचन आयोगसँग छलफल गरेर लागत निकाली छपाइको समझदारी गरिने केन्द्रका निर्देशक लामिछानेले बताए ।