काठमाडौँ – नेपालमा थप ७ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नयाँ संक्रमण देखिनेहरुमा अछामको मेल्लेख गाउँपालिकाका एक ३२ वर्षीय पुरुष रहेका छन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको हो । उनी हाल अछाम अस्पतालमा रहेका छन् ।


ADVERTISEMENT

# # #


बाँकेको भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनाको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता डा. देवकोटाले जानकारी दिए । जसमध्ये गुलरिया–१० बर्दियाका २२ र २४ वर्षीय पुरुष र गुलरिया–२ कै १८ वर्षीय पुरुष रहेको उनले बताए । यस्तै वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २ जना पोजेटिभ देखिएका छन् । उनीहरु जिराभवानी गाउँपालिका–४ पर्साको कालिकामाई क्वारेन्टाइनमा रहेका एकजना १८ वर्षीय पुरुष र काठमाडौँ–१५ घर भएका बाराको कलैयामा कार्यरत २८ वर्षीय पुरुष रहेका छन् ।

बाराको कलैया–७ का ७० वर्षीय पुरुष (जसको गत ४ गते नै निधन भइसकेको) मा पनि कोरोना देखिएको छ ।

पोजेटिभ देखिएका सबैको स्थायी ठेगाना र हालको ठेगाना अनुसार कन्ट्रयाक्ट ट्रेसिङ गर्ने काम स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट सुरु भएको प्रवक्ता डा. देवकोटाले बताए ।

यससंगै नेपालमा संक्रमितको संंख्या ६८२ पुगेको छ । जसमध्ये ६०२ जना पुरुष र ८० जना पुरुष रहेका छन् । कुल संक्रमितमध्ये ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ वर्षीय महिला, बाँकेका २५ वर्षीय युवा र गुल्मीका ४१ वर्षीय पुरुष र बाराका ७० वर्षीय पुरुष रहेका छन् ।

११२ जना उपचारपछि निको भएका छन् भने बाँकीको देशका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।