काठमाडौं – बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई तत्काल स्वदेश फर्काउनको लागि सरकारले ढिलासुस्ती गरेको र उदासिनता देखाएको भन्दै अभिभावक तथा नागरिक समाजका अगुवाले गुनासो पोखेका छन् ।


ADVERTISEMENT


आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभिभावकहरुले यस्तो गुनासो पोखेका हुन् । दुई महिनादेखि नेपाली विद्यार्थीहरु लकडाउनका कारण उतै अड्किएकोले जतिसक्दो चाँडो स्वदेश झिकाउन आफूहरुसँग विलौना गरेको अभिभावकहरुको गुनासो छ ।


ADVERTISEMENT

# # #


बंगलादेशको ढाकामा चिकित्सा शिक्षा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई स्वदेश फर्काउनको लागि अभिभावकहरुले नै सम्पूर्ण खर्च व्यहोर्ने प्रतिबद्धता समेत सरकारी अधिकारीहरुसँग गरिसकेका छन् । तर, सरकारले भने सकारात्मक रहेको र छिट्टै ल्याउने भनेरमात्रै आश्वासन दिएको र कुनै कार्यान्वनय नगरेकोपनि अभिभावको गुनासो छ ।

‘मेरी छोरी बंगलादेशमा अध्ययनरत छिन् । मेरो जानकारीमा त्यहाँ साँढे ६ सय विद्यार्थी छन् । बंगलादेशका विभिन्न क्षेत्रमा गरेर त्यतिको संख्यामा विद्यार्थी छन्, ढाकामा मात्रै छैनन्’ अहिलेसम्म कुनैपनि नेपाली विद्यार्थीहरुमा कोभिड–१९ संक्रमण नभएको बताउँदै अभिभावक विनोद रञ्जितले भने, ‘भोलि एक जनामा मात्रै पोजिटिभ भयो भने हाम्रो हालत कस्तो होला ? सरकारले चाँडै ल्याईदिओस् ।’

उनले आफूहरुले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि भेटेको र विद्यार्थी ल्याउनको लागि आग्रह गरेको सुनाए । उनले परराष्ट्र मन्त्री मात्र नभई सबै सरकारी निकाय विदेशमा समस्यामा परेका नेपाली विद्यार्थीहरु ल्याउन सकारात्मक देखिएपनि ढिलासुस्ती गरिरहेको भन्दै दुखेसो पोखे ।

त्यस्तै, अर्का अभिभावक मुकुन्द जोशीले पनि सरकारले बंगलादेशमा रहेका नेपाली विद्यार्थी स्वदेश फर्काउन ढिलाई गर्न नहुने आग्रह गरे । उनले भने, ‘अहिले विद्यार्थीहरुले नेपाल ल्याईदिनुहोस भनेर जुन खालको आग्रह गरिरहेका छन्, सरकारले त्यसलाई सुन्नुपर्छ ।’ त्यहाँ रहेका नेपाली विद्यार्थीहरुले बंगलोशमा रहेका नेपाली राजदूतसँगपनि उनीहरुले आग्रह गरेको बताउँदै अहिलेसम्म सबैतिरबाट आश्वासनमात्रै पाइएको बताए । सेप्टेम्बरसम्म बंगलादेशका सबै विश्विद्यालय बन्द गरिएको र अन्य देशका विद्यार्थीहरुलाई सम्बन्धित देशका सरकारले फिर्ता लिइसकेको बताउँदै उनले नेपािली विद्यार्थीको पनि चाँडो उद्दार गर्न आग्रह गरे ।

त्यस्तै, अर्का अभिभावक डा. मनोजकृष्ण श्रेष्ठले पनि सरकारले बंगलादेशबाट विद्यार्थीहरुलाई स्वदेश फर्काउनको लागि ढिलाई गर्न नहुने बताए । उनले नेपाली विद्यार्थीहरुलाई यस्तो अवस्थामा स्वदेश ल्याउनुपर्ने दायित्व सरकारको भएको उल्लेख गरे ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता एवम् नागरिक समाजका अगुवा डा. दिनेश त्रिपाठीले सरकारले विलम्ब नगरी बंगलादेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनुपर्ने माग गरे । ‘बंगलादेशमा रहेका विद्यार्थीहरुको अभिभावकहरुसँगै म पनि यो अभियानमा संलग्न छु । नागरिक अभियानको क्षेत्रमा काम गर्ने व्यक्ति भएको नाताले म आवद्ध छु ।’ उनले भने, ‘धेरै ठूलो संख्यामा नेपालीहरु विदेशमा अलपत्र परेका छन् । उनीहरु सुरक्षित रुपमा देश फर्किन पाउनुपर्छ ।’

सरकार विदेशमा भएका आफ्ना नागरिकप्रति जिम्मेवार हुनुपर्ने बताउँदै त्रिपाठीले भने, ‘सरकार भाग्न मिल्दैन् । हरेक नागरिकको जीवन मूल्यवान छ । विदेशमा अलपत्र परेकाहरुलाई उद्धार गर्न प्रक्रिया सुरु गर्नुपर्छ । व्यवस्थित् योजना हुनुपर्छ ।’ बंगलादेशमा रहेका नेपाली राजदूतले समेत सरकारले चाहेको खण्डमा नेपाली विद्यार्थी पठाउन सक्छौं भनेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा सरकार निर्दयी हुन नमिल्ने बताए ।