डडेलधुरा- डडेलधुरामा कोरोना पोजिटिभ देखिएका व्यक्ति सरकारी कर्मचारी भएको खुलेको छ । शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएका उनी डडेलधुरा सदरमुकामकै कार्यालयमा कार्यरत रहेको खुलेको हो ।
डडेलधुरा अस्पतालमा स्क्रब टाइफसको उपचार गराउन आएका ती व्यक्तिको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । परीक्षणपछि उनी स्क्रब टाइफसको औषधि लिएर अस्पतालबाट फर्किएका थिए तर पछि उनको कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।
सङ्क्रमितसँग सम्पर्क आएका कर्मचारी, सञ्चारकर्मी, होटल सञ्चालक तथा डडेलधुरा अस्पतालमा कार्यरत स्वाथ्यकर्मी र कर्मचारी गरी १५० जनाको स्वाब परीक्षण गरिएको छ । बीस जनाको आरडीटी गरिएको र चिकित्सकसहित सातजना अन्य आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय डडेलधुराका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए ।
जिल्लामा भारतबाट फर्किएका नागरिकलाई सबै स्थानीय तहले क्वारेन्टाइनमा राखिरहेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए । डडेलधुरामा बिहीबार २८८ जनालाई क्वारेन्टाइनबाट घर पठाइएको छ । शनिबार ६२६ जिल्लाका सात स्थानीय तहको क्वारेन्टाइनमा रहेको प्रजिअ पन्तले बताए । रासस