काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्न प्रहरी नायव उपरीक्षकको नेतृत्वमा स्वास्थ्यकर्मीसहितको ‘कोरोना भाइरस समन्वय डेस्क’ स्थापना गरेको छ ।


ADVERTISEMENT


उक्त डेस्क स्थापना गरी महाशाखाले २५ जना राख्न मिल्ने क्वारेन्टाइन वार्डसमेत तयार गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । वर्तमान समयमा विशेष परिस्थिति र आवश्यकताका आधारमा मात्र प्रहरी कर्मचारीलाई बिदा दिने व्यवस्था मिलाइएको जानकारी दिँदै उनले बिदाबाट फर्किएकालाई अनिवार्यरुपमा १४ दिन क्वोरेन्टाइनमा राखेर जाँचपछि मात्रै कार्यस्थलमा खटाउने व्यवस्था मिलाइएको बताए।


ADVERTISEMENT

# # #


महाशाखाले सबै ट्राफिक प्रहरीलाई ड्युटीपश्चात ब्यारेक हाताभित्र नै लक डाउन गरिएको छ । कोरोना भाइरस (कोभिड–१९)को उच्च जोखिमलाई मध्यनजर गर्दै महाशाखाले दैनिक सडकमा खटिनुपर्ने ट्राफिक प्रहरीलाई विशेष सतर्कता अपनाउन भनिएको उनले बताए । आजदेखि महाशाखाले बाहिरी प्रवेशद्धारमा पिपिई पोसाक लगाएका स्वास्थ्यकर्मीबाट थर्मल गनमार्फत ज्वरो नाप्ने व्यवस्था मिलाएको छ ।

महाशाखाले प्राविधिकको सहयोगमा आफैँ सेनिटाइजर उत्पादन गरी प्रत्येक ट्राफिक प्रहरीलाई सेनिटाइजर र मास्क पनि वितरण गरिसकेको छ । वर्तमान सुरक्षा अवस्थासमेतलाई मध्यनजर गर्दै हरेक प्रहरी कर्मचारीलाई सचेत रहन र सङ्क्रमणबाट बच्न सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको ढकालले जानकारी दिए।