काठमाडौँ – कोरोना सङ्क्रमण न्यूनीकरणका लागि दाङमा यसको तयारीलाई तीव्र पारिएको छ ।


ADVERTISEMENT


अहिले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोगशालासहितको अस्थायी कोरोना अस्पताल बनाउने तयारी गरिएको छ । प्रयोगशाला (ल्याब) सहितको अस्थायी कोरोना अस्पताल सञ्चालनमा आएपछि यहाँ बाट नै कोरोना सङ्क्रमणको जाँच हुनेछ ।


ADVERTISEMENT

# # #


“अस्थायी ल्याबसहितको कोरोना अस्पताल दाङमै सञ्चालन हुने योजना छ, सोही अनुसार प्रदेश सरकारले तयारी थालेको छ”, जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ का फोकल पर्सन कमल चन्दले भने, “ अहिले रिपोर्टकालागि स्याम्पल लगेर काठमाडौं जानुपर्ने अवस्था छ, कोरोना अस्यायी अस्पताल सञ्चालनमा आएपछि त्यो अवस्थाको अन्त्य हुनेछ ।” प्रदेश नं. ५ सरकारले बेलझुण्डीमा अस्थायी कोरोना अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको छ । त्यहाँ एक सय श्ययाको आइसोलेशन कक्षको व्यवस्थापन गरिएको छ ।

अहिले प्रतिष्ठान र बेलझुण्डी अस्थायी अस्पतालबाट नमूना सङ्कलन गरेर परीक्षणका लागि काठमाडौं लैजाने गरिएको छ । बेलझुण्डी कोरोना अस्पतालबाट जनरल ल्याब सेवा पनि सुरु गरिएको अस्पतालका मेसु सर्वेश शर्माले जानकारी दिए । उनले कोरोना सङ्क्रमणको आशङ्का गरिएका व्यक्तिमा अन्य रोगहरु पनि हुन सक्ने र त्यसको परीक्षण नगर्दै मृत्यु हुने घटनाको न्यूनीकरणका लागि यहाँ सो सेवा शुरु गरिएको हो ।

त्यस्तै जिल्लाका सबै स्थानीय तहमा पुग्ने गरि आइसोलेशन र क्वारेन्टाइनको व्यवस्थापन गरिएको छ । यदि कोरोनाको ‘पोजिटिभ’ रिर्पोट आए पनि दाङमै सहजै उपचार गर्न सकिने दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए। उनका अनुसार बेलझुण्डीमै अक्सिजन र भेन्टिलेटर जडान गर्न लागिएको छ । “हामीले जिल्लामै कोरोनाका विरामीलाई सहजै उपचार गर्न सक्छौं”, उनले भने, “अलि कडा बिरामी हुन थालेपछि मात्रै हामीले काठमाण्डौं लैजाने हो, सामान्य बिरामी भए त हामीले दाङमै सहजै उपचार गर्न सक्छौं ।’

दाङमा अहिले वडा–वडामा कोरोना भाइरसबाट सङ्क्रमित हुन सक्ने सम्भावित व्यक्तिको खोज्ने कार्य भइरहेको छ । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार वडाका जनप्रतिनिधिसँग सहकार्य गरेर भारतलगायत विदेशबाट आएका व्यक्तिको तथ्याङ्क खोज्ने कार्य भइरहेको छ । विदेशबाट आएका व्यक्तिलाई क्वारेन्टाइन कक्षमा राख्ने कार्य भइरहेको छ । यदि वडामा त्यस्ता शङ्कास्पद बिरामी भेटिएमा ओसार–पसार गर्नलाई जिल्लामा १५ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । ती एम्बुलेन्सका चालकलाई मास्क, सेनिटाइजरलगायत आवश्यक सामग्री उपलब्ध गराइएको छ ।

बिरामीको खानपानमा समस्या हुन सक्ने भन्दै कोरोना विशेष अस्पताल बेलझुण्डीमा कोष पनि निर्माण गरिएको छ । सो कोषमा दाङका घोराही र तुलसीपुर उपमहानगरपालिकाले रु एक÷एक लाख रकम जम्मा गर्ने छन्, भने लमही नगरपालिकासहित अन्य सात गाउँपालिकाले ५०÷५० हजार कोषमा जम्मा गरेका छन् । अहिले दाङका दशवटै स्थानीय तहले आइसोलेशन र क्वारेन्टाइन तयार गरेका छन् । अहिले जिल्लामा करिब तीन सय श्ययाको क्वारेन्टाइन कक्ष स्थापना गरिएको छ ।

११ जनाको परीक्षणः सबैको रिपोर्ट नेगिटिभ

दाङमा मंगलबारसम्म ११ जनाको कोरोना भाइरस(कोभिड–१९) परीक्षण गरिएको छ । कोरोनाको आशङ्कामा परीक्षण गरिएका सबैको रिपोर्ट नेगिटिभ आएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनमा रहेका ५ जनाको रिपोर्ट नेगिटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको छ ।

त्यस्तै बेलझुण्डी कोरोना विशेष अस्पतालको आइसोलेशनमा कक्षमा रहेका ६ जनाको पनि रिपोर्ट आएका छन् । उनीहरुको पनि नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको हो । अहिले प्रतिष्ठानको आइसोलेशनमा एकजना पनि शङ्कास्पद बिरामी छैनन्, भने बेलझुण्डी अस्पतालमा ७ जना शङ्कास्पद बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले बताए । उनका अनुसार शङ्कास्पद बिरामीको स्वाव सङ्कलन कार्य भइरहेको छ ।

तुलसीपुरमा मासु पसल खुल्ला

तुलसीपुरमा आजदेखि मासु पसल खुल्ला गरिएको छ । लकडाउनले गर्दा ब्रोइलर कुखुरा नष्ट हुन थालेपछि तुलसीपुर उपमहानगरपालिका र कुखुरा व्यवसायीबीच सहमति भएर मासुपसल खोल्न थालिएको हो । तुलसीपुरको मासुमण्डीमा रहेका १४ वटा फ्रेस हाउस सञ्चालन ल्याइएको छ ।

तुलसीपुर क्षेत्रमा तयारी अवस्थामा रहेका कुखुरालाई जिल्ला तथा जिल्ला बाहिर सहज ढुवानीका लागि उपमहानगरपालिकाले पहल गर्ने, कुखुरा सप्लार्यसले सहमति अनुसार किसानलाई दाना उपलब्ध गराउनुपर्ने उल्लेख छ । मासुपसल विहान ६ देखि ८ बजेसम्म र दिउँसो ४ देखि ६ बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।

घरमै अतिआवश्यक बस्तु

कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले गरेको लकडाउनको अवधिभर घोराहीका घरघरमा दैनिक आवश्यक बस्तुहरु पुर्याउन थालिएको छ । वडा नम्बर १४ र १५ को समन्वयमा दाङ जिल्ला उद्योग वाणिज्य सङ्घले उपभोक्ताको घरघरमा दैनिक खाद्य वस्तुहरु पुर्याउन थालिको हो ।

स्थानीय प्रशासनले दैनिक विहान ६ देखि ९ बजेसम्म तीन घण्टाका लागि दैनिक उपभोग्य बस्तु खरिद गर्न सकिनेछ । सो समयमा अत्यधिक भिडभाड र सङ्क्रमणको जोखिम भएपछि बजार क्षेत्रमा चौविसै घण्टा पूर्णरुपमा लकडाउन गर्ने निर्णय भएको हो । त्यसको विकल्पमा उद्योग वाणिज्य सङ्घले दैनिक उपभोग्य बस्तुहरु बजार क्षेत्रका टोल टोलमा पुर्याउन थालेको हो । चामल, तरकारी, नुन, तेल, दाल, दूध, फलफुल, पिठो, सावुन र च्याउ उपभोक्ताको घरघरमा पुर्याउन थालिएको सङ्घका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिए ।

सो कार्यका लागि १२ गाडी र एउटा मोटरसाइकलमा समानहरु राखेर घरमै सेवा दिन थालिएको छ । तरकारी, खाद्यान्न, फलफुल बोक्ने चार÷चार र एउटा मोटरसाइकलमा च्याउ राखेर बिक्री थालिएको छ । गाडीहरु माइकिङ गर्दै प्रत्येक टोल टोलमा जाने र घरमा बस्नेहरुले गेटबाटै समान खरिद गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ । घरघरमै दैनिक उपभोग्य बस्तुहरु पुर्याउने व्यवस्था गरेपछि पसलमा जस्तो भिडभाड नहुने, घरबाट निस्केर पसल धाउन नपर्ने र सङ्क्रमण जोखिम पनि न्यून हुने बताइएको छ ।

कोठा छाड्न दबाब नदिन प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय दाङले भाडामा बसेका स्वास्थ्यकर्मीलाई कोठा छोड्न दबाब दिए त्यस्ता घरधनीलाई कारवाही गर्ने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले सोमबार एक सूचना जारी गर्दै अहिले कोेरोना भाइरस (कोभिड–१९) को जोखिमको अवस्थमा पनि बिरामीको सेवा दिन खटिएका स्वास्थ्यकर्मीलाई कोठा छोड्न दबाब दिने गरेको गुनासो आएको भन्दै त्यसो गरे घरधनीलाई कानून वमोजिम कारवाही गरिने बताउनुभयो । कोठा भाडामा लिई बसेका विद्यार्थीलाई पनि त्यस्तो दबाब दिने गरिएको भन्दै यस्तो कार्य नगर्न स्थानीय प्रशासनले सबैमा आग्रह गरिएको छ । मुलुक महामारीले आक्रान्त बनिरहेको अवस्थामा आफ्नो ज्यानको प्रवाह नगरी खटिने स्वास्थ्यकर्मीको मनोबल उच्च राख्ने कार्य गर्नुपर्नेमा घरधनीले गरिरहेको भनि सुन्नमा आएको व्यबहार तत्कालन सच्चाउन उनले आग्रह गरे ।

लकडाउन अवज्ञा नगर्न सांसद केसीका अपील

दाङ क्षेत्र नम्वर ३ का प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले सरकारले गरेको लकडाउन पूर्ण रुपमा पालना गर्न जनतामा अपिल गर्नुभएको छ । कोरोना भाइरस९(कोभिड–१९) फैलिन नदिन तथा नियन्त्रणकालागि सरकारले लकडाउनलाई आठ दिन थप गरिएको भन्दै यो अवधिमा लकडाउन पूर्ण पालना गर्नु सबैको दायित्व भएको बताए । “कोरोना सङ्क्रमणको वर्तमान अवस्थामा सरकारले गरेको लकडाउनको पूर्ण पालना गर्न समेत म सम्पूर्ण नागरिकलाई अनुरोध गर्दछु”, अपिलमा भनिएको छ ।

विदेशबाट आएकालाई १४ दिनसम्म क्वारेन्टाइनमा बसेर आफ्नो परिवार अनि समाजलाई निर्धक्क बनाउन उनले अनुरोध गरेका छन् । कोरोनाका केही लक्षण देखिने बित्तिकै नजिकको स्वास्थ्य संस्थामा गएर आवश्यक परामर्श लिन समेत सबैमा उनले अनुरोध गरेका छन् ।

सहकारीले विना धितो ऋण दिने

दाङको एक सहकारीले सरकारले गरेको लकडाउनलाई मध्येनजर गरि विनाधितो ऋण दिने भएको छ । तुलसीपुर उपमहानगरपालिका–७ स्थित जनसेवा वचत तथा ऋण सहकारी संस्थाले दैनिक ज्याला मजदूरी गरेर जीवन चलाउने आफ्ना शेयर सदस्यलाई बिनाधितो ऋण दिने भएको हो ।

कोरोना भाइरस (कोभिड–१९) लाई ध्यानमा राखेर सरकारले गरेको लकडाउनको समयमा आफ्नो दैनिकी चलाउन समस्या हुने गरेका सेयर सदस्यका लागि यस्तो निर्णय गरेको हो ।

संस्थाको सोमबार बसेको आकस्मिक बैठकले लकडाउनको समयमा दैनिकी मजदुरी गरेका खाने श्रमिकको समस्या समधानका लागि दशहजारसम्म बिना धितो ऋण दिने निर्णय गरेको संस्थाका सचिव जीवन भण्डारीले बताए ।

सहकारीले लकडाउनको समयमा पनि दैनिक दुई घण्टा सेवा समेत प्रदान गर्ने भण्डारीले बताए । कोरोनाले निम्त्याएको सङ्कटलाई मध्यनजर गरी संस्थाबाट परिचालित ऋणको बुझाउनुपर्ने किस्ता र व्याज नबुझाएमा पनि सो अवधिको हर्जना नलिने संस्थाको बैठकले निर्णय गरेको सचिव भण्डारीले बताए । रासस