काठमाडौं स्थित भारतीय राजदूतावास र नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दार्चुला जिल्लाको धापस्थित मालिकार्जुन उच्च माध्यमिक विद्यालय र धनुषा जिल्लाको तुलसियाहीस्थित वैद्यथान देवनारायण जनता उच्च माध्यमिक विद्यालयको निर्माणका लागि महाकाली नगरपालिका, दार्चुला र मुखियापट्टी मुसहरनिया गाउँपालिका, धनुषासंग छुट्टा छुट्टै सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT


भारत नेपाल विकास साझेदारी कार्यक्रम अन्र्तगत उक्त दुई विद्यालयहरुको निर्माण कुल नेरु ७३.९६ मिलियन लागतमा हुने जनाईएको छ । यस्का लागि मालिकार्जुन विद्यालयका लागि नेरु २९.६४ मिलियन र वैद्यनाथ विद्यालयका लागि नेरु ४४.३२ मिलियन रकम बिनियोजन भएको छ ।


ADVERTISEMENT

# # #


विद्यालयहरुको निर्माणका लागि आर्थिक सहयोगको जिम्मा भारत सरकारले लिएको छ । बोलपत्र आह्वान, कार्य हस्तान्तरण, दैनिक निरीक्षण लगायतका निर्माण कार्य नेपाल सरकारले कार्यान्वयन निकायका रुपमा तोकेका महाकाली नगरपालिका, दार्चुला एवम् मुखियापट्टी मुसहरनिया गाउँपालिका, धनुषाले गर्ने जनाईएको छ । परियोजनालाई संघीय तहमा नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारतीय राजदूतावासले अनुगमन गर्नेछन् ।

सो दुई विद्यालयका अलवा कपिलबस्तु जिल्लाको महाराजगञ्ज नगरपालिकास्थित शिवभारी विद्यालय भवनको निर्माणका लागि भारत सरकारले नेरु ३३.०५ मिलियन आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । कुल रकमको पहिलो किस्ता स्वरुप भारतीय राजदूतावासले महाराजगञ्ज महानगरपालिकाका मेयरको उपस्थितिमा नेरु ८।२६ मिलियनको चेक जिल्ला समन्वय समिति कपिलबस्तुलाई हस्तान्तरण गरेको छ । जिल्ला समन्वय समितिले सम्पूर्ण टेन्डर प्रक्रिया सम्पन्न गरी विद्यालय भवन निर्माण कार्यको जिम्मा एम एस दया निर्माण सेवा रुपन्देहीलाई हस्तान्तरण गरेको छ ।

शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पुरा गर्ने सहयोगीका रुपमा रहेको उक्त परियोजनासंग जोडिन पाएकोमा भारत सरकारले खुसी व्यक्त गरेको राजदूतावासले जनाएको छ ।