काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले बालुवाटारस्थित ललित निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्री र जग्गा आफ्नो नाममा लिनेलाई छाडेर अख्तियारले कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध मुद्दा दायर गर्नु पूर्वाग्रहपूर्ण रहेको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार सामाजिक सञ्जाल फेसकुबकमा बालुवाटारस्थित ललित निवास प्रकरणबारे आफ्नो धारणा सार्वजनिक गर्दै सांसद थापाले सार्वजनिक जग्गा आफ्नो नाममा बनाउने विष्णु पौडेलका छोरा र कुमार रेग्मीलाई दोषी नदेख्ने अख्तियारको निर्णय हास्यास्पद र पूर्वाग्रहपूर्ण रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले भनेका छन्, ‘सार्वजनिक जग्गा आफ्नो नाममा बनाउने र सोको लागि अनेक प्रपञ्च रच्ने व्यक्ति नवीन पौडेल (नेकपा नेता विष्णु पौडेलको छोरा) र कुमार रेग्मीलाई ‘आफ्नो नाममा कायम रहेको जग्गाहरू नेपाल सरकारलाई छाडिदिन मन्जुर गरेकोले’ भन्ने तर्कका आधारमा दोषी नदेख्ने अख्तियारको निर्णय हास्यास्पद र पूर्वाग्रहपूर्ण देखिन्छ ।’ उक्त निर्णयले अनुसन्धानको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न गर्ने पर्याप्त आधार दिएको गगन थापाको ठहर छ ।

यस्तै उनले सार्वजनिक सम्पत्ति बदनियत पूर्ण रूपमा व्यक्तिका नाममा दिने कुरा नीतिगत निर्णय हुन नसक्ने टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘यदि सार्वजनिक जमिन व्यक्तिको नाममा सिफारिस गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेस गर्ने प्रक्रियामा संलग्न मन्त्री दोषी हुन्छन् भने, उक्त प्रस्ताव सदर गर्ने र कार्यान्वयन गर्न, गराउन निर्देशन दिने तत्कालीन प्रधानमन्त्री र संलग्न अन्य अधिकारीहरू उक्त अपराधबाट उन्मुक्ति पाउन सक्दैनन्।’ कानुनको अपव्याख्या गर्दै संलग्न व्यक्तिलाई उन्मुक्ति दिने प्रयत्न दुरासयपूर्ण रहेको सांसद थापाको तर्क छ ।

यद्दपी थापाले कांग्रेस नेता विजयकुमार गच्छदारको संलग्नताको विषय अदालतमा प्रवेश गरिसकेकाले अदालतले गर्ने निर्णय सबैले मान्नुपर्ने बताए । ‘उहाँ सही हुनुहुन्थ्यो वा गलत त्यसको फैसला अदालतले गर्नेछ, सम्मानित अदालतले गर्ने निर्णय सबैले मान्नुपर्छ’ उनले भनेका छन् ।

सांसद थापाले अदालतले यस प्रकरणमा अनुसन्धानले नसमेटेका विषयलाई समेत दृष्टिगत गरी संलग्न व्यक्तिहरूको पहुँच, अवस्था, आस्था र विचार नहेरी फैसला गर्ने विश्वास व्यक्त गरेका छन् ।