काठमाडौँ – नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को आगामी निर्वाचनका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष अच्युत गुरागाईंको समूहले उम्मेदवारी घोषणा गरेको छ ।


ADVERTISEMENT


गुरागाईं समूहले आज पत्रकार सम्मेलन गरेर आफ्नो समूहबाट निर्वाचनमा उठ्ने १० जना उम्मेदवारको नामावली घोषणा गरेको हो । नाट्टाको वरिष्ठ उपाध्यक्षमा हेमराज बाँस्तोला, उपाध्यक्ष यज्ञमूर्ति आचार्य, महासचिव राकेश धमला, सचिव गोविन्द दाहाल, कोषाध्यक्ष कुमारमणि थपलिया र सहकोषाध्यक्षमा पासाङ दावा शेर्पाको उम्मेदवारी घोषणा गरिएको हो ।


ADVERTISEMENT

# # #


यस्तै सदस्यमा परशुराम घिमिरे, नमराज भेटुवाल र रमेश थापाको नाम घोषणा गरिएको छ । अध्यक्षका उम्मेदवार गुरागाईंले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन आफूले अध्यक्षमा उम्मेदवारी दिन लागेको बताए । सो समूहले कम्पनीलाई प्रविधिमैत्री, नाटा सचिवालयलाई प्रभावकारी बनाउन, विभिन्न कारण देखाइ गन्तव्य प्रवेशमा रोक लगाइएका कारण टिकेटिङ कम्पनीमा पर्न गएको अनावश्यक आर्थिक भारबाट उन्मुक्ति दिलाउने आफ्नो लक्ष्य रहेको बताएको छ ।

नाट्टा सदस्यलाई कुनै आपतकालीन स्थिति आइपर्दा सहयोग पु¥याउन राहतकोष स्थापना गरिनेछ । उपयुक्त कार्यविधिका आधारमा राहतकोष सञ्चालन गरिने बताइएको छ । काठमाडौँ उपत्यकामा पर्यटकीय बसका लागि टर्मिनल निर्माण, वुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्टलाई निरन्तरता दिने, नेपाल भ्रमण वर्षका अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरिने, नेपालको आकर्षक गन्तव्य स्थललाई विभिन्न देशमा चिनाउन भूमिका खेलिने घोषणापत्रमा उल्लेख छ । नाट्टाको वार्षिक साधारणसभा तथा निर्वाचन आगामी माघ ३ गते शुक्रबार काठमाडौँमा हुँदैछ ।