काठमाडौँ –  एक महिनासम्म चल्ने भक्तपुरको प्रशिद्ध माधवनारायणको व्रत एवम् मेला सुरू भएको छ। हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने यो मेला शुक्रबार बिहान त्रिवेणीघाटमा स्नान गरी, सूर्यलाई अघ्र्य दिएर माधवनारायणको पूजा गरेपछि व्रत शुरु भएको हो ।


ADVERTISEMENT


श्रीस्वस्थानी वाचन सोमबारदेखि शुरु भए पनि दुईदिन पूर्णिमा भएकाले व्रत आजदेखि शुरु भएको माधवनारायण व्रत व्यवस्थापन समितिका सदस्य एवं पुजारी गोपाल शर्माले जानकारी दिए । मेला भक्तपुरमा नेपाल संवत्को आठौँ शताब्दीदेखि शुरु भएको मानिन्छ ।


ADVERTISEMENT

# # #


व्रत शुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्खजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको पुजारी शर्माले जानकारी दिए ।

नेसं ७२२ मा रणजीत मल्ल आफैँले व्रतको व्यवस्थापन गरेको शिलालेखमा उल्लेख छ । यहाँस्थित त्रिवेणीघाटमा डुबी एकचित्त भएर जे माग्यो त्यो पूरा हुने जनविश्वास छ ।

वर्तालुले खाली खुट्टा पैदल नै तीलमाधवबाट तलेजु भवानीसम्म, सप्तमीमा पनौती गई त्रिवेणीमा बसेर स्नानपछि इन्द्रेश्वर महादेवको दर्शन गरी अष्टमीमा फर्कने, दशमीमा पशुपति गएर स्नान गरी जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेवसम्म कलशयात्रा गर्ने, द्वादशीमा चाँगुनारायण शंखदहमा स्नान गरी कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पूर्णिमाका दिन नगर परिक्रमा गरेर भूपतीन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर एकमहिने व्रत समापन गर्ने परम्परा रहेको छ ।

सबै तस्बिर : रासस