काठमाडौँ – नेपालले मौसम परिवर्तनका कारण आउने बाढी, पहिरोजस्ता विपत्तिबारे पूर्वसूचना दिन चीनसँग आग्रह गरेको छ । नेपालको करिब एक हजार ५०० किलोमिटर उत्तरी सीमाना चीनसँग जोडिएकाले त्यहाँ विपत्ति आउँदा त्यसको असर नेपालमा समेत पर्ने भन्दै पूर्वसूचना दिन नेपालले आग्रह गरेको हो ।


ADVERTISEMENT


ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग आज चीनको मौसम विभागका उपमहानिर्देशक चेन युङफेङ नेतृत्वको टोलीले गरेको भेटमा उनले मौसमबारे पूर्वसूचना दिन आग्रह गरे । नेपालका अधिकांश नदीको मुहान चीन रहेको र ती नदीमा ठूला लगानीमा जलविद्युत् आयोजना र नदी किनारमा महत्वपूर्ण संरचना निर्माण भइरहेकाले चीनको मौसममा हुने परिवर्तनले आउने बाढी पहिरोको जोखिमबाट ती संचरनाको सुरक्षा गर्न सूचना जरुरी भएको औँल्याए।


ADVERTISEMENT

# # #


पूर्वसूचनाको अभावमा दुई वर्षअघि सुनकोशी नदीमा आएको बाढीले सिन्धुपाल्चोकको बाह्रबीसे र आसपास क्षेत्र डुबानमा पर्दा ठूलो धनजनको क्षति भएको स्मरण पनि मन्त्री पुनले टोलीलाई गराएका थिए । “हाम्रा धेरै नदीहरु चीन मुहान भएर आउँछन्, त्यसमा हामीले ठूलो लगानीमा जलविद्युत् आयोजना र अरु महत्वपूर्ण संरचना बनाएका छौँ”, मन्त्री पुनले भने, “बाह्रबिसेमा जस्तै धनजनको क्षति अब नहोस् भन्नका लागि हामीलाई पूर्वसूचना जरुरी भएको छ ।”

प्राकृतिक विपत्तिबारे पूर्वसूचना भए सम्भावित जोखिमबाट बच्न बेलैमा सचेतता अपनाउन सकिने उनको भनाइ थियो । सीमापारिको मौसमबारे नेपाललाई केही थाहा नहुने गरेको भन्दै उजले त्यसमा सहकार्य जरुरी रहेको बताए। “हाम्रो विकासका पूर्वाधारको सुरक्षाका लागि चिनियाँ मौसमबारे पूर्वजानकारी अत्यावश्यक छ”, मन्त्री पुनले भने ।

सो अवसरमा उपमहानिर्देशक युङफेङले नेपालको मौसम पूर्वानुमान विभागलाई भौतिक र प्राविधिक सहयोग गर्न र सूचना आदानप्रदान गर्न आफूहरु तयार रहेको बताए । रासस