संकलन : रमेश आचार्य

दक्षिण र मध्य अमेरिकामा उत्पत्ति भएको क्याक्टस (Cactus) प्रजातिको, झट्ट हेर्दा बोट सिउँडीको जस्तै देखिने बहुउपयोगी वनस्पतिको नाम हो ड्रागनफल । यसलाई पिताया (Pitaya) र पितानाया (Pitanaya) पनि भनिन्छ । नेपालमा यसलाई ड्रागनफल, सिउँडी फल र कतै कतै सिम्थीफल पनि भन्ने गरिएको पाइन्छ । यसको वैज्ञानिक नाम हाइलोसेरियस अनडाइटस (Hylocereus undatus) हो भने यसको फ्यामिली नाम क्याक्टेसी (Cactacace) हो ।


ADVERTISEMENT


मानव शरीरलाई चाहिने सम्पूर्ण तत्त्व एवं धेरै खाले औषधीय गुण यसमा पाइने र असाध्यै रसिलो तथा स्वादिष्ट भएकाले यस फललाई सुपर फूड (Super Food) पनि भन्ने गरिन्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउने र शरीरमा शक्ति तथा ऊर्जा वृद्धि गर्ने भएकाले यसलाई शक्तिको पावर हाउस (Power house of energy) पनि भनिन्छ, यसमा धेरै किसिमका औषधीय तत्त्व पाइने भएकाले यसलाई औषधीय फल (Medicinal Fruit) पनि भनिन्छ ।


ADVERTISEMENT

# # #


नेपालमा पनि यसको व्यावसायिक खेती र उपयोग दिनप्रतिदिन बढ्दै गइरहेको छ ।

काठमाडौं,रानीबारी स्थित लाल ब. लामाको घरको छतमा फलेको ड्रागनफल

ड्रागनफलका प्रकारहरु

विश्वमा पाइने खान योग्य ड्रागनफल सामान्यतया तीन प्रकारका छन् । रातो बोक्राभित्र सेतो गुदी हुने (White in Red), सेतो ड्रागनफल हो । अरूभन्दा सेतो जातको बढी फल्दछ । नेपालमा यसको सफल प्रयोग भइसकेको छ । रातो बोक्राभित्र रातो गुदी हुने (Red in Red) रातो ड्रागनफल हो । रातो ड्रागनफल पनि गाढा रातो र हल्का रातो अर्थात् अबिरे गरी दुई रङको हुन्छ । सेतोका तुलनामा यो अलि कम फल्दछ, नेपालमा यसको पनि सफल प्रयोग भइसकेको छ । पहेँलो बोक्राभित्र सेतो गुदी हुने (White in Yellow) पहेंलो ड्रागनफल हो । यसको पनि नेपालमा परीक्षण खेती सुरु गरिएको छ ।

सेतो,रातो,पिंक र पहेंलो रङको ड्रागनफल

ड्रागनफल खानका फाइदाहरु

राम्ररी पाकेको १०० ग्राम ड्रागनफलमा पाइने तत्त्वहरु निम्नानुसार छन्ः

मोइश्चर÷पानीको मात्रा – ८५.३ प्रतिशत, इनर्जी÷क्यालोरी– ६७.७ प्रतिशत, प्रोटिन – १.१ प्रतिशत,

फ्याट/चिल्लोपन – ०.५७ प्रतिशत, कार्बोहाइड्रेड– ११.२ प्रतिशत, फाइबर – १.३४ प्रतिशत,

एस्कोरबल एसिड/भिटामिन सी –२०.२२ मी. ग्राम, क्याल्सियम – १०.२ मी. ग्राम,

फसफोरस – २७.५ मी. ग्राम, सोडियम – ८.० मी. ग्राम, म्याग्नेसियम – ३८.० मी. ग्राम,

पोटासियम – २७.२ मी. ग्राम, आइरन – ३.३७ मी. ग्राम, जीन – ०.३५ मी. ग्राम, सर्बिटोल –३२.७ मी. ग्राम,

स्रोतःAnt Fram, Vietnam को ड्रागनफलको प्याकिङ बक्समा प्रिन्ट गरिएको लेवलबाट

ड्रागनफलका १० फाइदाहरु

१. शरीरमा चिनीको मात्रालाई नियन्त्रित राख्छ

२. प्रतिरक्षा प्रणाली बलियो बनाइदिन्छ

३. मुटुको लागि अत्यन्त्यै फाइदाजनक

४. मोटोपन घटाउन सहयोगी

५. प्रशस्त मात्रामा फाइबर हुने भएकोले पाचनप्रणालीका लागि फाइदाजनक

६. शरीरका विकास र हानिकारक धातुहरु निश्कासनमा सहयोगी

७. प्रोस्टेट क्यान्सको खतरालाई कम गर्ने

८. मानसिक क्षमता अभिबृद्धि गर्ने

९. बुढापापनको गतिलाई सुस्त तुल्याइदिने

१०. हड्डी र दाँतलाई बलियो बनाउन सहयोगी

स्रोतः सोङ नाम आइटीडी कम्पनी लि.,भियतनाम

ड्रागनफल एन्टीअक्सिडेन्टको एक प्रमुख स्रोत हो । यसमा एन्टीकारसिनोजन्स र लाइकोपिन प्रशस्त मात्रामा पाइने भएकाले धेरै किसिमका क्यान्सर लाग्नबाट बचाउँछ ।

यसमा पानी प्रशस्त पाइने हुनाले पानी कम पिउने बानी भएका व्यक्तिहरूलाई यसको नियमित सेवनले शरीरमा पानीको मात्रा कम हुने र यसका कारणबाट उत्पन्न हुने विभिन्न किसिमका समस्याबाट बचाउँछ । फल मिठो र रसिलो हुनाले पानी पिउने अनुकूल नपर्दा शरीरमा पानीको मात्रा स्वतः पुग्दछ ।

विश्वका प्रसिद्ध मानिएका झन्डै एक दर्जन फलफूलहरूमा पाइने तत्त्वहरु ड्रागनको एउटै फलबाट प्राप्त हुन्छ ।

यसका बिउमा ओमेगा ३ यस (Omega 3S) र ओमेगा ६ यस (Omega 6S) अनि यसका गुदीमा भिटामिन सी प्रशस्त पाइने हुनाले छालासम्बन्धी रोग लाग्न नदिने काम यसले गर्छ । साथसाथै, यसले छालालाई मुलायम र चम्किलो बनाउँछ ।

यसको नियमित सेवनले मधुमेह रोग लाग्न दिँदैन भने मधुमेहका रोगीलाई पनि फाइदा पुर्‍याउँदछ ।

यसको फल डेंगु रोगीको लागि वरदान मानिन्छ ।

यसमा प्रशस्त मात्रामा फाइबर हुने भएकाले पाचनप्रणालीलाई चुस्तदुरुस्त बनाइ कब्जियत हुनबाट बचाउँदछ ।

क्याल्सियम प्रशस्त पाइने भएकाले दाँत र हड्डीलाई बलियो बनाउँछ । खास गरी पाठेघर निकालेका र चालीस बर्ष माथिका महिलाहरुका लागि अत्यन्त उपयोगी मानिन्छ ।

यसमा फोनोइन्ट्स भन्ने तत्त्व पाइने भएकाले मुटु सम्बन्धी रोग लाग्न दिँदैन भने मुटुका रोगीहरूलाई पनि अत्यन्त फाइदा गर्दछ ।

गर्भवती महिला,बालबच्चा,वयस्क,वृद्धकालागि यो फल शक्तिबर्द्धक,गुणकारी र उपयोगी सावित भएको छ ।

अर्थराइटिस बिरामीका लागि यो फल अति उपयोगी साबित भएको छ ।

यसको प्रयोग भएका सौन्दर्य प्रशाधनका सामग्री अत्यन्त उपयोगी मानिन्छन् र यसबाट कुनै किसिमका साइडएफेक्ट हुँदैन ।

ड्रागनफल नियमित खानाले शरीरमा हुने विभिन्न किसिमका विषाक्त तत्त्वलाई कम गर्दछ ।

यसको नियमित सेवनले अनावश्यक मोटोपनलाई घटाई शरीर स्लिम बनाउन मद्दत गर्दछ ।

यसको बोटबाट रातीको समयमा प्रशस्त मात्रामा अक्सिन उत्सर्जन हुने भएकाले प्राकृतिक वातावरण र मानव स्वास्थ्यका लागि यसको बोट अत्यन्त उपयोगी मानिन्छ ।

ड्रागनफलको उपयोग र यसबाट उत्पादन गर्न सकिने वस्तुहरु

ड्रागनफल सामान्यतया एक स्वादिष्ट खाद्य फलका रूपमा प्रयोग गरिन्छ । खानापछिको डेजर्डका रूपमा पनि यो विश्वभर लोकप्रिय छ । ब्रेकफास्ट, डिनर र लन्चमा सजिने डिक्समा पनि पर्दछ । घरमा आउने विशिष्ट पाहुनाको स्वागतमा पनि यसले प्रसिद्धि पाएको छ । दिउँसोको खाजा र बच्चाको टिफिनमा पनि यसको प्रयोग दिनप्रतिदिन बढिरहेको छ । विवाह, व्रतबन्ध, जन्मोत्सव, पूजाआजा, देवकार्य, पितृकार्य, छठपूजा, उपहारमा पनि यसको प्रयोग बढ्दै गइरहेको छ ।

इस्टमित्र, नातागोता, साथीभाइको घर अफिसमा जाँदा कोसेलीका रूपमा दिन सकिन्छ । जाम, जेली, वाइन, आइसक्रिम, चकलेट, बिस्कुट, कन्फेक्सनरी, सर्वत, पाउडर, मिलसेकजस्ता खाद्य र पेय पदार्थ बनाउन पनि प्रयोग गरिन्छ । फेसवास वा फेसप्याकका लागि यो अत्यन्त उपयोगी र आकर्षक मानिन्छ । यसबाट बनेका सौन्दर्य प्रशाधनका सामाग्री विश्वभर लोकप्रिय मानिन्छन् । त्यसैले ड्रागनफललाई कृषि जन्य औद्योगिक कच्चा पदार्थ र गाउँ तथा शहरमा रोजगारी प्रवर्द्धन गरी उच्चआर्थिक प्रतिफल दिने महत्वपूर्ण वस्तुका रुपमा लिन सकिन्छ ।

ड्रागनफलका लागि उपयुक्त माटो र हावापानी

नेपालमा यसको खेती तराईदेखि ५०० मिटरसम्म उचाइको अधिकांश भू–भागमा गर्न सकिन्छ । यसका लागि पानी नजम्ने, सेप/ओसेप र छायाँ नभएको र पारिलो जमिन हुनुपर्दछ । कालो, रातो, फुस्रो, बलौटे, दोमट, चिम्ट्याइलो गेगरयुक्त, ढुङग्यान जुनसुकै माटोमा पनि यसको खेती गर्न सकिन्छ । पी.एच मान (P.H. value) ४.५–७.५ सम्म भएको माटोमा यसको खेती गर्न सकिन्छ । यसले गर्मीमा ४५ डिग्री सेल्सियस र जाडोमा २–३ डिग्री सेल्सियससम्मको तापक्रम सहन गर्न सक्दछ । तथापि १५–३० डिग्री सेल्सियस तापक्रम हुने ठाउँ सबैभन्दा उपयुक्त मानिन्छ । तराइ, भित्री मधेस र पहाडका धान, मकै, गहुँ, तेलहन, दलहन खेती गर्न सकिने मलिला खेतबारीदेखि खोलाबगर, रुखा पाखा, पखेरा, कान्ला र अन्य खेती गर्न नमिल्ने बुट्यान क्षेत्रमा पनि यसको खेती गर्न सकिन्छ । तराइमा अन्य खेती गर्न नसकिने बलौटे, गेग¥यान र बगर जस्ता ठाउँमा खेती गर्दा अरू खेतीयोग्य जमिनमा गरिने अन्य खेतीभन्दा बढी आम्दानी लिन सकिन्छ । गमलामा रोपेर घरको छत, कौसी, पेटी, आँगन, सिँढीमा पनि यसको खेती गर्न सकिन्छ । नेपालको हावा, पानी, भू–बनोट, प्रकृति ड्रागनफल खेतीका लागि उपयुक्त हुन्छ । नेपालको विभिन्न भागमा फलेका ड्रागनफल रसिला, पोटिला, झरिला र खाँदा पनि अत्यन्तै मिठो, ठूलो र धेरै फल्ने हुनाले नेपाल यसको खेतीका लागि अत्यन्तै उपयुक्त र उर्बर भूमि हो भन्न सकिन्छ ।

ड्रागनफलको खेती गर्ने तरिका

यसलाई बाह्रै महिना खेती गर्न सकिन्छ । ड्रागनफलको बिरुवा रोप्दा फेदमा राम्ररी जरा पलाएको र टुप्पामा मुना पलाएको हुनुपर्दछ । रोप्नुअघि प्लास्टिकको सोलीबाट झिकेर जरा अडिएको माटोको डल्लो नफुट्ने गरी गमला, बारी वा पोलको फेदमा रोप्नु पर्दछ । वयस्क बोटको हाँगा काटेर सिधै जमिन वा गमलामा पनि रोप्न सकिन्छ । यसको बिरुवा वा बोटको एकापट्टिको भाग चेप्टो हुन्छ र त्यसको विपरीत भागमा एउटा ढाड जस्तो भाग उठेको हुन्छ । चेप्टो भागलाई अगाडिको भाग र धार भागलाई पछाडिको भाग भनिन्छ । पोल, भित्ता, बाँस वा अन्य टेकामा बिरुवा रोप्दा त्यसको अगाडिएको भागलाई टाँसेर रोप्नु पर्दछ । यसको बोट ठूलो र दह्रो हुँदैन । हाँगा फैलँदै बढ्दै गर्ने लहरा जस्तो हुनाले आफैँ खडा हुन सक्दैन । त्यसैले यसको बिरुवा रोप्नुभन्दा अघि यसलाई अड्याउन पोल, टेका, माँच, थाङ्ग्रो वा अन्य दह्रो अडेसको व्यवस्था गर्नुपर्दछ । यसरी गाडिने पोल आठ–आठ फिटको फरकमा हुनुपर्दछ । पोलको टुपोमा टायर वा अन्य कुनै रिङ्ग राख्नु पर्दछ । त्यही रिङ्ग वा क्यापबाट वाहिर लत्रेका हाँगाहरूमा कोपिला लागेर फूल फुली त्यसै फूलमा फल लाग्दछ । एकपटक रोपेपछि २०–२५ वर्षसम्म फलिरहन्छ र फल कम र सानो फल्न थालेपछि पुरानो बोट हटाएर त्यही पोलमा अर्को नयाँ विरुवा रोप्नुपर्दछ । यसको बोटमा फल फल्न थालेको तेस्रो वर्षदेखि व्यावसायिक उत्पादन लिन सकिन्छ । वैशाख–जेठदेखि फूल फुल्न थालेर त्यही फूलमा चिचिला लागेको ३०–४० दिनभित्रमा फल पाक्दछ । यसको फल जेठ–असारदेखि मंसिरसम्म आठ–दश छिमल फल्ने गरेको पाइएको छ । पोल, टेका वा माँचको उचाइ ५ फिट अग्लो हुने भएकाले करिब ३ फिटसम्म उचाइ हुने खालका बन्दा, काउली, खुर्सानी, रायोको साग, लसुन, प्याज, धनियाँ, पुदिना, टमाटर, भन्टा, आलु, मास, चियासिड, कुसुमकर्मी, तिल, तोरी, स्टेबरी, भिन्डी, सखरखण्ड जस्ता अन्य बालीलाई दुई पोलका बीचमा अन्तर बालीका रूपमा लगाउन सकिन्छ । वर्षमा दुई–तिन पटक गाईवस्तु, भेडा, बाख्रा, हाँस, कुखुरा, सुगुर, बंगुर आदिको राम्ररी पकेको मल लगाउनु पर्दछ ।

छत तथा गमलामा ड्रागनफलको खेती गर्ने तरिका

ड्रागनफलको खेती अत्यन्तै सानो अर्थात् एक स्क्वायर/फुट मात्र जमिन भए पनि गर्न सकिन्छ । यसका लागि पानी नजम्ने र घाम लाग्ने ठाउँ हुनु जरुरी छ । सानो करेसाबारी, घरको कम्पाउण्ड, कौसी र छत, आँगन, पेटी, पर्खाल, भित्ता जहाँ गमला राख्न मिल्ने ठाउँ छ त्यहाँ यसको खेती गर्न सकिन्छ । जमिनमा रोप्ने ठाउँ नभएका व्यक्तिहरुले छत, कौशी, आँगन, पेटी, भर्‍याङ, आदि ठाउँहरुमा गमला, बाल्टी, ड्रम, माछाप्याक गर्ने तथा मेडिकल सामान आयात गरेका थर्मकोलका बट्टा, रंगको बाल्टी, पुराना ड्रम, इनारको रिङ, काठको बक्सा, पुराना खेर जाने भाँडा वर्तन आदिमा माटो, कम्पोष्ट मल र कोकोपिटको मात्रा बराबर मिलाएर राम्ररी फिटी त्यसमा ड्रागनफलको बिरूवा रोप्न सकिन्छ । गमलामा रोप्दा कौसी, छत, भर्‍यङ, पर्खालको डिलमा राम्रो सपोर्ट र रिङमा अडिने गरी राख्नुपर्दछ । भुँइचालो आएका बेला वा सामान्य धक्का पर्दा नखस्ने गरी राख्नुपर्दछ नत्र गमला खसेर दुर्घटना हुन पनि सक्तछ । कौसीमा ड्रागनफल रोप्दा यसको बोट गारो भन्दा बाहिर लत्रन दिनु हुँदैन नत्र फल टिप्दा मानिस लड्ने वा अन्य दुर्घटना हुन सक्ने सम्भावना हुन्छ । यसरी छतमा रोप्दा प्रतिगमला २० देखि ५० केजीसम्म फल्ने गरेको पाइएको छ । पहिलो तरिकाबाट खेती गर्दा बोट फैलिएर झ्याङ ठूलो भई उत्पादन धेरै हुन्छ भने दोस्रो तरिकाबाट खेती थोरै ठाउँमा धेरैवटा गमला राखेर पोल विना खेती गर्न सकिन्छ यसो गर्दा बोटको टुपा छाटेर तीन–चार फिट अग्लो हाँगा राख्नु पर्दछ । टेका वा माँच बनाउनु पर्दैन ।

ड्रागनफल टिप्ने र भण्डारण गर्ने तरिका

ड्रागनफल फल अत्यन्तै रसिलो कोमल र गिलो हुनाले यसलाई अत्यन्त जतनसाथ सिकेचर वा चक्कुको सहायताले टिप्नुपर्दछ र यसलाई पातलो फोम वा कागजमा लपेटेर क्यारेटमा राख्नुपर्दछ । बजारमा पठाउँदा पनि यसलाई दबाव नपर्ने र नकुच्चिने गरी पठाउनुपर्दछ । स्टोर गर्दा सुख्खा, ओभानो, घामपानी नपर्ने १–१५ डिग्री सेल्सियस तापक्रम भएका कोठामा राख्नुपर्दछ । यसरी भण्डारण गर्दा एक महिनासम्म सुरक्षित रहन्छ । बजार टाढा छ अथवा धेरै समयसम्म भण्डारण गर्नु छ भने यसको फल हरियोबाट हल्का रातो हुने बित्तिकै टिप्नुपर्दछ । नजिक बजार भएमा रातो भएका ३–४ दिनपछि टिप्नुपर्दछ । टिप्नासाथ खाने हो भने रातोबाट हल्का गुलाबी वा प्याजी रंगको भएपछि टिप्नुपर्दछ, यो पूर्ण बयस्क र परिपक्व अवस्थामा हो । यसरी परिपक्व भएर टिपिएको फल अत्यन्त मिठो र पौष्टिक हुन्छ । यो अवस्थामा फल नटिपेमा बोटमै फुटेर रस चुहिने र चराचुरुङ्गी, अरिङगाल, बारुलो, झिँगा, भुसुनाले खान थाल्दछ । यसलाई पकाउन र सुरक्षित राख्न कुनै किसिमको औषधिको प्रयोग आवश्यक पर्दैन र स्वास्थ्यका हिसाबले गर्नु पनि हुँदैन ।

नेपालमा ड्रागनफलको व्यापारको अवस्था

नेपालमा खासगरी राजधानी काठमाडौंको केही सुपरमार्केट र प्रमुख फलफूल पसलमा ड्रागनफल बिक्री गरिने गरिएको छ । नेपालबाट व्यावसायिक रुपमा ठूलो मात्रामा उत्पादन भइसकेको अवस्था छैन । दुई चार जना मध्यमस्तरका किसानहरुले उत्पादन गरेका सीमित उत्पादन बजारमा कहिलेकाहीँ थोरै मात्रामा उपलब्ध हुने गरेको छ । साना उत्पादकहरुको उत्पादन निजी प्रयोग र चिनजानका व्यक्तिहरुलाई बिक्री गर्दैमा सकिन्छ आन्तिरक उत्पादनले बजारमा अत्यन्तै सानो हिस्सा धानेको छ । यो फलको महत्व दिन–प्रतिदिन धेरै मानिसहरुले बुझ्दै गएकोले माग पनि उच्च गतिमा बढ्दै गएको छ ।

बजारमा यसको माग उच्च भएका कारण व्यापारीहरुले भारत, चीन, थाइल्याण्ड, भियतनाम आदि देशबाट मगाएर बिक्री गर्ने गरेका छन् । टाढादेखि ल्याउनुपर्ने र धेरैदिन राख्न नमिल्ने भएकाले सीमित आयात हुने गरेको छ जसले गर्दा यसको मूल्य धेरै महँगो छ । काठमाडौं उपत्यका लगायत अन्य जिल्लाका केही मानिसहरुले छत तथा करेसाबारीमा रहर र प्रयोगका रुपमा र केही व्यक्तिहरुले व्यवसायिक रुपमा गरिएको सीमित खेतीको उत्पादन पनि छिटफुट रुपमा बिक्री हुने गरेको छ । माग र मूल्य उच्च भएकाले आव २०७६/०७७ देखि निम्न र मध्यम वर्गदेखि ठूला व्यवसायिक फर्म र व्यक्तिहरुले यसको व्यवसायिक खेती बिस्तार गर्न लागेका छन् । जसले गर्दा अबको तीन चार वर्ष देखि नेपाली बजारमा सरल मूल्य र सहज रुपमा उपलब्ध हुन सक्छ भन्ने आशा गर्न सकिन्छ ।

नेपालमा हाल यसको उत्पादन कति छ, आयात कति छ र बजारमा कूल खपत र कारोबार कति भन्ने कुनै आधिकारिक तथ्याङ्क छैन । तर बजारमा बिक्री भइरहेको कूल ड्रागनफलमध्ये करिब ९५% जति बिदेशबाटै आयात गरिएको छ । यसको उत्पादन, खपत र प्रयोगको प्रचलन र व्यापार बढ्दै गएपछि सरकारी, गैरसरकारी र निजी क्षेत्रबाट यससम्बन्धी विभिन्न तथ्याङ्कहरु प्रकाशित भइ धेरै जानकारी पाउन सकिने आशा लिन सकिन्छ ।

ड्रागनफल खेतीबाट हुने आर्थिक फाइदा

ड्रागनफलको खेती उच्च प्रतिफल दिने नगदेबाली हो । यसले गाउँ गाउँमा गरिबी न्यूनिकरण गर्न, आय र रोजगारी वृद्धि गर्न, कृषिमा आधारित उद्योग तथा व्यापार विस्तार गर्न र खाद्यान्न अभाव तथा भोकमरी कम गर्न समेत मद्दत पुर्‍याउँछ । तराईदेखि पहाडसम्म खेती गर्न सकिने भएकाले नेपालको करिव साठी प्रतिशत भू भागमा खेती गरी करिव सत्तरी प्रतिशत जनसंख्या संलग्न हुन सक्ने देखिन्छ । एक रोपनी जमिनमा करिब ८० वटा पोल गाडेर ती प्रत्येक पोलमा चारवटाका दरले जम्मा ३ सय २० वटा जति बिरुवा रोप्न सकिन्छ भने एक कट्ठा जमिनमा करिब ६० वटा पोलमा दुई सय चालीस वटा बिरुवा रोप्न सकिन्छ । रोपेको दोस्रो वर्षदेखि फल्न थाल्ने र क्रमश बोट बढ्दै जाँदा फल पनि बढ्दै जान्छ । यसरी रोपिएको प्रतिपोल वा प्रतिझाङमा रोपेको दोस्रो वर्षदेखि पाँचौ वर्षसम्म क्रमश: करिब दश, पच्चीस, पचास र साठी केजीसम्म उत्पादन हुन्छ । तीन वर्षमा पोलसहितको खर्च उठिसकेपछि मलजल, काँटछाँट, गोडमेल, औषधि उपचार, टिप्ने, भण्डारण गर्ने, प्याकिङ, बजार पठाउने तलव दिने र जग्गाको भाडासमेत गर्दा पनि प्रतिपोल खर्च घट्दै जाने र प्रतिपोल आम्दानी बढ्दै जाने हुन्छ । नेपालको स्थान, भूगोल, क्षेत्र, उत्पादनको स्थिति र समयअनुसार उत्पादन लागत खर्च, बजार मूल्य र आम्दानीमा केही फरक पर्न सक्दछ । यसरी लागत खर्च उठिसकेका पोलबाट अरू पन्ध्र वर्ष निरन्तर आम्दानी लिइरहन सकिन्छ । यसरी हेर्दा नेपालमा गरिने अन्य खेती भन्दा ड्रागनफलको खेतीबाट लिइने आम्दानीको प्रतिफल उच्च देखिन्छ । प्रति पोल वार्षिक उत्पादन सरदर ५० केजी हुन्छ ।

यसको हाँगा छाँटकाँट गरि बनाएको बिरुवा विक्री र अन्तरवाली बाट हुने अतिरिक्त आम्दानी लिन सकिन्छ । बैँकको व्याज, जग्गाको भाडा र अन्य अतिरिक्त खर्च जोड्दा पनि चार वर्षमा ड्रागनफ्रुटको खेतीबाट केही नाफा हात पर्दछ । पाचौँ वर्ष देखि प्रति रोपनी र प्रति कठ्ठा आम्दानी सबै खर्च कटाएर सरदर ६ लाख र ५ लाख लिन सकिन्छ ।