काठमाडौं– ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र चिनियाँ राजदूत होऊ याङछीबीच भेटवार्ता भएको छ ।


ADVERTISEMENT


सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आईतबार भएको द्धिपक्षीय भेटवार्तामा आपसी हितका साथै दुई देशबीच गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो । मन्त्री पुनले ६० मेगावाट क्षमता भएको अपर त्रिशुली ए जलविद्युत आयोजना भर्खरै सम्पन्न भएको भन्दै त्यसमा चीन सरकारले गरेको सहयोगप्रती धन्यवाद व्यक्त गरे ।


ADVERTISEMENT

# # #


भेटमा उर्जामन्त्री पुनले गत महिना भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण ऐतिहासिक रुपमा सम्पन्न भएको भन्दै उक्त भ्रमणका क्रममा नेपाल–चीनबीच एक वर्षभित्र उर्जा र जलविद्युतको क्षेत्रमा सहकार्यको योजना बनाई कार्यान्वयन गर्ने समझदारी भएको भन्दै उक्त समझदारीलाई अघि बढाउने विषयमा समेत छलफल भएको थियो । उनले नेपाल चीनबीचको उर्जा संयन्त्रको पहिलो बैठक सम्पन्न भइसकेको भन्दै दुवै देशबीच भएका समझदारीलाई अघि बढाउन संयन्त्रको दोस्रो बैठक छिट्टै आयोजना हुने विश्वास व्यक्त गरे ।

चिनियाँ राष्ट्रपतिकै नेपाल भ्रमणका क्रममा सम्झौतमा भएको तमोर र माडी जलविद्युत आयोजनाको काम अघि बढिरहेको भन्दै छिट्टै त्यसले मुर्त रुप पाउने मन्त्री पुनको भनाई थियो ।

मन्त्री पुनले सुनकोशी मरिन डाइभर्सन परियोजनामा चिनियाँ ऋण सहयोगका लागी अर्थमन्त्रालयमार्फत प्रक्रिया सुरु भएको भन्दै त्यसलाई छिटो अघि बढाइदिन चिनियां राजदूतको ध्यानआकर्षण गरे । उनले पछिल्लो समय नेपालको जलविद्युत क्षेत्रमा लगानीका लागी चिनियाँ लगानीकर्ताहरुको संख्यामा वृद्धि भइरहेको भन्दै सरकार र मन्त्रालयले पुर्ण रुपमा सहजीकरण गरिरहेको बताए।

भेटमा चिनियाँ राजदूत यान्छीले चीन उर्जा क्षेत्रमा सहकार्यका लागी इच्छुक रहेको धारणा राखे। उनले चिनियां कामदारले ब्यहोरिरहेका भिषाको समस्या, लगानीकर्ताका नितीगत समस्या र विजुलीको दररेटजस्ता समस्या समाधानमा उर्जामन्त्रीले खेलेको भुमिकाको प्रशंसा व्यक्त गरे । साथै उर्जा संयन्त्रको बैठकका लागी आफुले सरोकारबाला निकायसंग छलफल गरेर बैठकको मिती चांडै टुंगो लगाउने जानकारी दिए।

चिनियाँ राजदूत यान्छीले उर्जामन्त्री पुनलाई चीनबाट युनान प्रान्तका गर्भनरको नेपाल भ्रमण हुन लागेको जानकारी दिंदै त्यस क्रममा उर्जा क्षेत्रमा सहकार्य गर्न आफुहरु इच्छुक रहेको धारणा राखिन् ।

‘चीनबाट गर्भनर तहकै भ्रमण हुंदैछ, युनान जलविद्युत र उर्जा क्षेत्रमा निकै प्रगती गरेको भनेर चिनिने प्रान्त पनि हो, उहाँको भ्रमण उर्जा र जलविद्युत क्षेत्रमा सहकार्य गर्नेमा केन्द्रित हुनेछ’ राजदूत यान्छीले भेटमा भनिन् ।