काठमाडौँ – रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले उपनिर्वाचनमा प्रतिनिधि सभा कास्की क्षेत्र नं २ का लागि उम्मेदवार चयन गरेको छ । उपनिर्वाचन यही मंसिर १४ गते हुँदैछ ।


ADVERTISEMENT


कार्तिक ५ र ६ गते पोखरामा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले कास्की क्षेत्र नं. २ को रिक्त सांसद पदका लागि रजनी केसीलाई उम्मेदवारमा चयन गरेको हो । क्षेत्र नं. २ का सांसद तथा तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको गतवर्ष फागुनमा हेलिकोप्टर दुर्घटनामा मुत्यु भएपछि उक्त क्षेत्र खाली रहेको छ ।


ADVERTISEMENT

# # #


जिल्ला र क्षेत्रीय समिति सिफारिस अनुसार केसीलाई छनोट गरिएको पार्टी प्रवक्ता सूर्यराज आचार्यले बताएका छन् । उप–निर्वाचन हुन गइरहेका अन्य रिक्त पदका लागि पार्टीले विधि–विधान अनुसार क्रमिक रूपमा उम्मेदवार चयन गर्ने उनको भनाई छ ।

को हुन् रजनी ?

साझा पार्टीले उम्मेदवारका रुपमा अघि सारेकी पोखरा महानगरपालिका निवासी रजनी केसी साझा पार्टी केन्द्रीय सदस्य हुन् । उनी लामो समयदेखि समाज रूपान्तरणका लागि सामाजिक, धार्मिक र राजनीतिक रूपमा लागि परेको एक जना अभियान कर्ता हुन् ।

केसीले सुरक्षित मातृत्व सञ्जाल महासङ्घ, नेपाल परिवार नियोजन सङ्घ लगायत विभिन्न सङ्घ, संस्थाहरुमा नेतृत्वदायी जिम्मेवारी सम्हाल्नुका साथै लामो समय विभिन्न तह र तप्कामा रहेर राजनीतिक अनुभव बटुलेको पार्टीले जनाएको छ ।

गत वैशाखमा पोखरा विश्वविद्यालयको उपप्रशासक पदबाट राजीनामा दिएर उनी साझा पार्टी निर्माणको अभियानमा संलग्न भएकी थिइन् । उनले जनसङ्ख्या, लैङ्गिक अध्ययन तथा विकासमा स्नातकोत्तर गरेकी छन् ।