काठमाडौँ – नेपाल टेलिकमले पर्वतको फलेवास नगरपालिका वडा नम्बर ३ पोखराचौरस्थित श्री राम माविलाई चार थान कम्प्युटर हस्तान्तरण गरेको छ । विद्यालयको ४० औं वार्षिकोत्सव तथा अभिवावक दिवसको अवसर पारेर कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्प्युटर प्रदान गरिएको हो ।


ADVERTISEMENT


फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माको समुपस्थितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम विश्वकर्मालाई दूरसञ्चार कार्यालय पर्वतका कार्यालय प्रमुख मोहन सुवेदीले कम्प्युटरहरु हस्तान्तरण गरे।


ADVERTISEMENT

# # #


सो अवसरमा नगरपालिका प्रमुख शर्माले कम्पनीले देशका सबै स्थानमा सेवा पु¥याउनुका साथै अन्य सामाजिक कार्यमा समेत संलग्न भएकोमा खुसी ब्यक्त गरे ।

कार्यालय प्रमुख मोहन सुवेदीले प्रविधिमैत्री शिक्षाका लागि थप टेवा पुगोस् भन्ने उद्देश्य अनुरुप विद्यालयलाई कम्प्युटर प्रदान गरिएको कुरा व्यक्त गरे । विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद भुसालले कम्प्युटर प्रदान गरेकोमा नेपाल टेलिकमप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै आगामी दिनमा थप सहयोगको अपेक्षा गरे ।

नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस अन्तर्गत सूचना प्रविधि क्षेत्रमा समेत टेवा पुग्ने गरी पठनपाठनमा सहजताका लागि सामुदायिक विद्यालयहरुलाई कम्प्युटर प्रदान गर्दै आएको छ ।

कम्पनीले यो वर्ष १५ थान कम्प्युटर वितरण गर्ने कार्यक्रम रहेकोमा डोटीको केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पसलाई ५ थान र दुर्गा माध्यमिक विद्यालयलाई २ थान तथा कपिलवस्तुको बाल माध्यमिक विद्यालयलाई ४ थान कम्प्युटर वितरण गरिसकेको छ ।