एजेन्सी – भारतीय संविधानको अनुच्छेद ३७० ले जम्मू कश्मीरलाई दिएको विशेष अधिकार खारेज गर्ने मोदी सरकारको निर्णयपछि पाकिस्तानले निरन्तर प्रतिक्रिया दिँदै आएको छ ।
बिहीबार यही विषयमा गरिएको पत्रकार सम्मेलनमा पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मोहम्मद फेसलले भारतले कश्मीरमा एकतर्फी निर्णय गरेर संयुक्त राष्ट्रसंघको उपेक्षा गरेको र मानव अधिकारको अलंघन गरेको आरोप लगाएका छन् । उनले भारतले यस्तो निर्णय गरेर दक्षिण एशिषको स्थिरता र शान्तिलाई जोखिममा पुर्याएको बताए ।
पत्रकार सम्मेलनमा एक पत्रकारले सचिव फेसललाई सोधे, ‘भारतले कश्मीरमा सैनिकको संख्या बढाएको छ । विदेश मन्त्रालयको प्रवक्ताका नाताले के तपाईलाई लाग्छ कि भारत नियन्त्रण रेखा पार गरेर कुनै प्रकारको हमवला गर्न सक्छ ? यदि कुनै किसिमको हमला भयो भने यसका लागि पाकिस्तानले कस्तो तयारी गरेको छ ?’
पत्रकारको जवाफ दिँदै मोहम्मद फेसलले भने, ‘हामी मुसलमान हो । डर शब्द हाम्रो शब्दकोषमा छैन । हामी डराउन्नौँ । २७ फेब्रुअरी (पाकिस्तानले यही दिन नियन्त्रण रेखा पार गरेका भारतीय लडाकू विमानलाई खसालेको थियो भने उसका विमान पाइलट अभिनन्दनलाई नियन्त्रणमा लिएको थियो) याद गर्नुहोस्, डरको कुनै गुञ्जायस छैन ।’ उनले भने, ‘भारतले जे गर्न चाहन्छ, त्यसको जवाफ पाकिस्तानको राष्ट्रीय सुरक्षा समितिले दिइसकेको छ । संसदले पनि बुधवार दिइसकेको छ ।’
प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा बुधवार बसेको पाकिस्तानी राष्ट्रिय सुरक्षा समितिको बैठकले भारतसँगको द्विपक्षीय व्यापारिक सम्बन्ध तोड्ने घोषणा गरेको थियो ।