काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा इतिहासमै कहिल्यै नभएको काम भएको दाबी गरेका छन् ।
राजधानीको भृकुटीमण्डपमा पार्टीनिकट मजदुर संगठनको सभालाई बुधवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कतिपयलाई केही पनि भएन भन्ने आदत लागेको बताए । उनले भने, साच्चै केही नभएको हो र ? होइन । इतिहासमै कहिल्यै नभएको काम भएको छ ।’ उनले सरकारले हाँसिल गरेको आर्थिक वृद्धिदर राम्रो भएको जिकिर गरे।
‘आर्थिक वृद्धिदरको आँकडा अन्तराष्ट्रिय हो। अहिलेको नेपाल हेरेर विश्व बैंकले ‘राइजिङ स्टार’ भनेको छ। यो विश्वास आँकडाका आधारमा जगाइएको हो,’ प्रधानमन्त्री ओलीले भने।
नेपालमा जस्तो मजदुर, रोजगारदाता र सरकारबीच मेलमिलाप अन्यन्त्र नपाइने उनको दाबी छ।
सरकारले राम्रो काम गर्न थालेपछि राजपाले समर्थन फिर्ता लिएको आरोप उनले लगाए । सरकारलाई समर्थन फिर्ता गर्ने होइन, समर्थन गर्न उनले आग्रह गरे । “राजेन्द्र महतोलाई सोध्न चाहन्छु– सीमाना नाका बन्द गरेर मुलुक बन्छ ? इन्धन बन्द गरेर, नागरिकलाई दुःख दिएर मुलुक बन्छ ?” जायजलाई जायज भन्न नसक्ने, आलोचना गर्ने रोग केहीलाई लागेको उनले बताए ।