काठमाडौँ– नेपाल एएफसी यू–२३ च्याम्पियनसिप २०१८ छनोटको पहिलो खेलमा शनिबार आयोजक युनाइटेड अरब इमिरेट्स (यूएई) सँग ५–० ले पराजित भएको छ ।
अल आइनस्थित तहनोन बीन मोहमद रंगशालामा भएको समूह ‘डी’ को खेलमा नेपाल २२ मिनेटभित्रै ३ गोलले पछाडि परेको थियो । राष्ट्रिय टोलीबाट खेलिसकेका ९ खेलाडीसम्मिलित नेपालले मध्यान्तरपछि पाँचौं गोल खर्चिएको थियो ।
नेपालका रक्षक गौरव बुढाथोकीले पेनाल्टी बक्समा युएईका खेलाडीलाई फाउल गरेपछि घरेलु टोलीले पेनाल्टी पाएको थियो। जसमा अहमद हुसैनले कुनै गल्ती गरेनन्। कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै हुसैनले २०औं मिनेटमा अग्रता दोब्बर बनाए। त्यसको तीन मिनेट बित्न नपाउँदै मोहम्मद अलकबेरीले तेस्रो गोल थपे। ३३औं मिनेटमा नेपालका रक्षक दिनेश राजवंशीले पेनाल्टी बक्समा ह्यान्ड गर्दा युएईले दोस्रो पेनाल्टी अवसर पायो। जसलाई खालिद अब्दुल रहिमले गोलमा परिणत गरेेपछि युएईले पहिलो हाफमै ४–० को अग्रता लिएको थियो। दोस्रो हाफमा युएईले थप एक गोल थप्यो। मोहम्मद रसिदले ६०औं मिनेटमा गोल गरेका थिए।
रंगशालामा ४० डिग्रीमाथिको तापक्रम भएकाले पहिलो हाफको ३० र दोस्रो हाफको ७५औं मिनेटमा ‘कुलिङ ब्रेक’ राखिएको थियो। नेपालले अब समूहको दोस्रो खेल सोमबार उज्बेकिस्तानविरुद्ध खेल्नेछ। समूहको अन्तिम खेलमा साउन ४ गते लेबनानसँग प्रतिस्पर्धा गर्नेछ।
फिफा वरीयताअनुसार उज्बेकिस्तान समूहको सबैभन्दा बलियो टोली हो। उज्बेकिस्तान विश्ववरीयताको ६५औं स्थानमा रहँदा नेपाल भने १ सय ७०औं स्थानमा सीमित छ। युएई ७५औं स्थानमा छ। लेबनान १ सय २४औं स्थानमा छ। यु–२३ च्याम्पियनसिपको इतिहास हेर्ने हो भने युएई र लेबनान पछिल्ला दुई संस्करणमा लगातार छनोट भएका थिए। युएईले २०१४ र २०१६ का पछिल्ला दुई संस्करणमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो।