काठमाडौँ– संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा सहभागी हुन अमेरिका भ्रमणमा निस्कएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भ्रमण अत्यन्त फलदायी रहेको बताएका छन् ।
आफ्नो १३ दिने भ्रमण पूरा गरी स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै नेपालको हित अनुकुल हुने गरी भएको भ्रमणको उद्देश्य पूरा भएको बताए ।
यस्तै उनले आफ्नो र माधवकुमार नेपालको सम्बन्ध २९ सालदेखिको भएको भन्दै पार्टी र देशका बारेमा चिन्ता नलिन आग्रह गरे ।
‘उहाँसँग मित्रता छ। अनुभव छन्। तपाईंहरूले चिन्ता नलिएर ढुक्क हुन आग्रह गर्छु, ’प्रधानमन्त्रीले भने, ‘कहिलेकाहिँ कवि मन भएका मान्छेले कवितात्मक ढंगले पूरानो गीत सम्झना गर्नु सामान्य हो। त्यसैका पछि लाग्नुको कुनै अर्थ छैन।’
“मैले त सबै सुनेको छैन । एउटा पुरानो गीत सम्झनुभयो भन्ने सुनेको छु । बोल्दै जाँदा एउटा गीत सम्झिन सकिन्छ । ठूलो कुरा केही होइन । सरकारको लक्षण र गति तपाइँहरुले देख्नुभएकै छ ।” उनले भने ।
उनले कतिपयले सरकारलाई गाली गर्दा सन्तोष मान्ने गरेको बताए । “नेपाल गरिब ७ महिनामा भएको हो ? नेपालका बाटा पहिला चौडा थिए नबनेका अहिले ७ महिनामा हो ?,” ओलीको प्रश्न थियो, “ केहीले सरकारलाई गाली गर्दा सन्तोष मान्छन् ।” पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले पछिल्लो समय विकास निर्माणका काम नभएको भन्दै सरकारको टिप्पणी गरेका थिए ।