काठमाडौँ– थाई एयरवेजले आफ्ना ७ कर्मचारीलार्इ निष्काशन गरेको छ । चर्चित ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका ती कर्मचारीलाई थाई एयरवेजले सेवाबाट अवकाश दिएको हो । उनीहरुको सो अवकाश असोज ५ बाटै लागू भइसकेको एयरवेजले जनाएको छ ।
उनीहरु सुन चोरी पैठारी तथा कर्तव्य ज्यान मुद्दामा थुनामा रहेको अवधि ९० दिनभन्दा बढी भइसकेको भन्दै कम्पनीले प्रचलित श्रम ऐनअनुसार अवकाश दिइएको जनाएको छ ।
जिल्ला अदालत, मोरङको आदेश अनुसार उनीहरुलार्इ गत जेठ ८ गतेदेखि पुर्पक्षका लागि थुनामा लिइएको थियो । थुनमा रहेकै बेला अवकाश पाउनेमा गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, हेमन्त गौतम, वीरेन्द्रमान श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, लाल बहादुर मगर र कपिल राज पुरी रहेका छन् ।
नेपालको श्रम ऐन २०७४ को दफा १३४(६) अनुसार रोजगारदाता आफैँले उजुरी दिई थुनामा रहेको अवस्थामा बाहेक प्रचलित कानुन बमोजिम थुनामा रहेको अवस्थामा निलम्बन गर्न सकिने तथा ९० दिनभन्दा बढी भएको अवस्थामा सेवाबाट निस्काशन/अवकाश दिन सक्ने व्यवस्था रहेको छ ।