काठमाडौं–भारतको तीन दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आइतबार साँझ स्वदेश फर्केका छन् । स्वेदश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले आफू नेपाली जनताको अभिमत र भावनाको प्रतिनिधित्व गर्दै गएको र त्यसलाई भारतले स्वागत गरेको बताएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्रीले पत्रकारका प्रश्नको जवाफ दिनुअघि भ्रमण टोलीमा रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको वक्तव्य पढेर सुनाएका थिए । लिखित वक्तव्यमा नेपाल र भारतबीचका पुराना सम्झौतासहित रेलमार्ग, जलमार्ग लगायत नयाँ विषयमा भएका सहमतिबारे उल्लेख गरिएको छ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले भम्रणका क्रममा भएका भेटमा आफूहरूले कुनै कुरा उठाउनका लागि नउठाएको बरू समाधान चाहन्छौं भनेर गम्भीरतापूर्वक राखेको बताए । ‘भ्रमणमा उठायौं भन्नका लागि होइन साँच्चै नै समस्याको समाधान चाहेर कुरा राखेका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘कतिपय कुरा संयुक्त वक्तव्यमा आएका छन् । धेरै सकारात्मक कुरा भएका छन् । जुन कुरा लिखितमा आउन बाँकी छन् त्यसलाई उछाल्ने होइन समाधान गर्न तिर हामी लागेका छौँ । अबको बाटो गम्भीर वार्ता हो ।’

२२ वर्षअघि हस्ताक्षर भएको पञ्चेश्वर परियोजनाको डिपिआर टुंग्याउने र नेपालले भारतीय आकाशबाट थप हवाई रूट माग्ने विषयमा भएको छलफलबारे प्रधानमन्त्रीले स्पष्ट जवाफ दिएनन् । उनको लिखित वक्तव्यमा भने पञ्चेश्वरको डिपिआर छिट्टै टुंग्याउने र नेपालमा सिमराबाहेक भारतीय आकाशबाट हवाई रुट दिने विषयमा छलफल भएको उल्लेख छ ।

द्वीपक्षीय भेटमा नेपाल र भारतबीच विभिन्न ठाउँमा देखिएका सीमा विवाद, डुबान समस्याका बारेमा पनि छलफल भएको प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा शनिबार १२ बुँदे संयुक्त वक्तव्य जारी भएको थियो । त्यसमा नेपालका नदी हुँदै समुद्रसम्म वाटरवेज चलाउने विषयलाई नेपाल भारतको यातायात तथा पारवहन सन्धिमा समावेश गर्ने, रक्सौल–काठमाडौं रेलमार्गको एक वर्षभित्र सम्भाव्यता अध्ययन गर्ने र नेपालको कृषिलाई व्यवसायिकरण गर्न भारतीय प्रविधिको हस्तान्तरण गर्ने विषयमा भएका सहमति उल्लेख गरिएको छ ।

२ वर्षअघि भारतीय नाकाबन्दीबाट बिग्रिएको नेपाल–भारत सम्बन्ध अहिले सौहार्दपूर्ण रहेको पनि प्रधानमन्त्रीले बताए । ‘हाम्रो सम्बन्धबारे तस्बिर आफैं बोल्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘नेपाल–भारत सम्बन्ध सौहार्दपूर्ण छ र कसैले बिगार्न नचाहेमा बिग्रदैन ।’

फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्री नियुक्त भएका ओली आफ्नो पहिलो विदेश भ्रमणका लागि शुक्रबार नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नयाँदिल्ली गएका थिए ।