काठमाडौं–नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक शुरु भएको छ । बैठक बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको हो । बैठकमा कार्यदलले मिलाउन नसकेका प्राविधिक विषयमा सहमतिको प्रयास हुनेछ ।


ADVERTISEMENT


एकीकृत पार्टीको चुनाव चिह्न के हुने र विधानको प्रस्तावनामा ‘जनयुद्ध’ शब्द राख्ने की नराख्ने भन्ने विषयमा कुरा मिलेका छैनन् । माओवादी नेताहरुले सूर्यसँगै हँसिया हथौडा पनि चुनाव चिह्न राख्दा एकताको भावना झल्किने तर्क गर्दै आएका छन् भने एमाले नेताहरुले सबैले चिनिसकेको र लोकप्रिय रहेकाले सूर्य मात्रै चुनाव चिह्न राख्नुपर्ने अडान राख्दै आएका छन् ।


ADVERTISEMENT

# # #


सकेसम्म यी विषयमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली भारत भ्रमण जानुअघि नै सहमति जुटाउने कसरतमा नेताहरु लागेका छन् । एकता संयोजन समितिको बिहीबारको बैठकमा यी प्राविधिक विषयहरुमा सहमति जुटेमा पार्टी एकता घोषणा तयारी समिति गठन गर्ने नेताहरुले बताएका छन् ।

एमाले र माओवादीका नेताहरुले आगामी बैशाख ९ गते एकता घोषणा गर्ने बताएका छन् । बैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस रहेकाले सोही दिन ठूला दुई वाम दलको घोषणा गर्ने तयारी नेताहरुको छ ।

पार्टी एकताको निर्णय अनुमोदन गर्नका लागि एमालेले बैशाख ६ गते पोलिटव्यूरो र ७ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।