राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन नभएसम्म सदनमा प्रतिरोध कायमै राख्ने निर्णय गरेको छ ।
बिहीबार पार्टी कार्यालय वनस्थलीमा बसेको पार्टी सचिवालय बैठकले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन र गृहमन्त्रीको राजीनामा आउनुपर्ने विषयमा अडान कायमै राख्दै सदनमा निरन्तर प्रतिरोध गर्ने निर्णय गरेको महामन्त्रीमा कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
त्यस्तै राज्य व्यवस्था समितिबाट पारित भएको निजामति विधेयक, प्रतिनिधिसभाबाट पारित हुँदा कुलिङ अफ पिरियडको व्यवस्थामा भएको बदमासीपूर्ण हेरफेर संविधानले व्यवस्था गरेको संसदको सार्वभौममाथि प्रहार भएको बैठकको ठहर रहेको उनले बताए ।
बैठकले कानून बनाउने विधायकी स्वतन्त्रतामाथि आँच आउनेगरी भएको बदमासीपूर्ण छलछामको गतिविधिलाई अन्देखा नगरी यस कार्यमा संलग्नमाथि छानविन गरी दोषिमाथि कारवाही गर्न संसदीय छानविन समिति बनाउन माग गरेको महामन्त्री बुर्लाकोटीले जानकारी दिए । उनले भने, ‘संसदको यो विधायकी भूमिकामा कुनै पनि किसिमको चलखेल सैह्य नहुने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ ।’
त्यस्तै बैठकले रुपन्देही क्षेत्र नंवर ३ मा हुने उपनिर्वाचन रास्वपाका तर्फबाट योग्य उम्मेदवार छनौट गर्नका लागि सचिवालय बैठकमा पेश भएको उम्मेदवार छनौट विधिमा छलफल भएको र सुझावलाई समेत समेटेर आइतबार बस्ने सचिवालय बैठकले उम्मेदवार छनौट विधिलाई पारित गर्ने बुर्लाकोटीले बताए ।
उनले भने, ‘बैठकले रुपन्देही–३ का लागि त्यहाँका आम नागरिक, पार्टी शुभेच्छुकको समेत चाहना अुनसार छनोट विधिमार्फत योग्य, सक्षम, इमान्दार उम्मेदवार प्रस्तुत गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।’