काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)ले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको जनाएको छ ।
पाटी कार्यालय आलोकनगरमा बिहिबार बसेको केन्द्रीय सचिवालय बैठकपछि पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टीको अनुशासन आयोगले झाँक्रीलाई स्पष्टीकरण सोधेको जानकारी दिएका हुन् । यसअघि बिहिबार नै पार्टी कार्यालयमा पुगेर झाँक्रीले आफूलाई स्पष्टीकरण सोधेको विषय निराधार भएको बताएकी थिइन् ।
उपाध्यक्ष खतिवडाले झाँक्रीको अभिव्यक्तिका विषयमा अनुशासन आयोगले निश्चित समय तोकेर स्पष्टीकरण सोधेकाले समयभित्रै स्पष्टीकरण आउने विश्वास रहेको बताए ।
सचिवालय बैठकमा पतञ्जली प्रकरणमा माधव नेपालमाथिको मुद्दा, पछिल्लो राजनीतिक अवस्थाका साथै पार्टीका आन्तरिक विषयमा छलफल भएको खतिवडाले बताए । बिहिबार बसेको बैठकमा उपाध्यक्ष धर्मनाथ साह, उपमहासचिव मेटमणि चौधरी, राजेन्द्र राईले धारणा राखेका थिए । पार्टीका केही नेताहरु अस्वस्थ्य रहेकाले बैठक केही समय बसेर स्थगित गरिएको उनले जानकारी दिए ।
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक असार २२ गते पुनः बस्नेगरी स्थगित भएको उनले बताए ।