काठमाडौँ– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफुलाई पार्टीले स्पष्टिकरण सोधेको भन्ने विषय निराधार भएको बताएकी छन् ।
आफुमाथि उठेका बिषयमाथि ‘सचिवालय बैठकमा नै प्रष्ट पार्न पाऊँ’ भन्दै बिहीबार पार्टी कार्यालयमा निवेदन दिन पुग्गेकी झाँक्रीले स्पष्टिकरणको विषयमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका कुरा निराधार भएको बताएकी हुन् ।
आफुले एउटा कार्यकर्ता भेलामा बोलेका कुरालाई लिएर पार्टीको ध्यानाकर्षण भइ निर्देशन जारी भएपछि कहि पनि सार्वजनिक रुपमा प्रतिक्रिया नदिएको उनले बताइन् । तर पार्टीका ठूला नेताहरुले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आफुबिरुद्ध दिएको अभिव्यक्तिप्रति व्यक्तिगत र राजनीतिक हिसावले प्रतिवाद गर्ने झाँक्रीको भनाइ छ ।
उनले आफुले बोलेका विषयमा भने बैठकमा आफ्ना कुरा राख्ने उल्लेख गरिन् । स्थायी कमिटी बैठक तत्काल बस्ने अवस्था नरहेकाले जारी सचिवालय बैठकमा उपस्थीत भइ स्पष्ट पार्ने मौका प्रदान गर्न आग्रह गर्दै उनले अध्यक्षका नाममा पत्र दर्ता गराएका छन् । झाँक्रीले असार १४ गते युवा संघ लुम्विनी प्रदेशको भेलामा समय अगावै पार्टी नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन्।