काठमाडौँ – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको स्कल्याण्ड सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
स्कटल्याण्डको डण्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा नेदरल्याण्डले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । खेल नेपाली समय अनुसार ३ः४५ बजे सुरु हुनेछ ।
आज नेपाली टोलीमा तीन वटा परिवर्तन गरिएको छ । मध्यम गतिका बलर सोमपाल कामीको ठाउँमा नन्दन यादव आएका छन् । उनले नेपाली राष्ट्रिय टोलीबाट एकदिवसीय क्रिकेटमा डेब्यू गरेका हुन् । यस्तै ओपनर तथा विकेटकिपर आशिफ शेखको स्थानमा अनिल साह तथा गुल्शन झाको स्थानमा बासिर अहमद आएका छन् ।
सोमपाल र गुल्शन घाइते हुँदा नयाँ खेलाडीले मौका पाएका हुन् । उनीहरु नेपाल, नेदरल्याण्ड्स र स्कटल्याण्डबीच हुने टी–२० सिरिजबाट समेत बाहिरिएका छन् ।
यसअघि नेदरल्याण्ड्सविरुद्ध पहिलो खेलमा १ विकेटको रोमाञ्चक जित हात पारेको नेपाल दोस्रो जित निकाल्ने दाउमा रहेको छ भने नेदरल्याण्ड्स यसअघिको हारको बदला लिने ध्याउन्नमा रहेको छ ।
नेपालको प्लेइङ-११
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), अनिल साह (विकेट किपर), कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, बासिर अहमद, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी र नन्दन यादव ।