काठमाडौँ – नेपाल टेलिकमको विलिङ्ग सिस्टम अपग्रेड गर्ने कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले आइतबार विशेष अदालतमा टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, तत्कालीन प्रमुख व्यावसायिक अधिकृत हालकी प्रबन्ध निर्देशक संगिता पहाडी लगाएत १८ जना उपर नेपाल दूरसञ्चार कम्पनी लिमिटेड÷सार्वजनिक संस्थाको सम्पत्ति हिनामिना हानी नोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो ।
अख्तियारले प्रतिवादीविरुद्ध ३३ करोड ४८ लाख १७ हजार ४ सय ३० रुपैयाँ बिगो मागदाबी गरेको छ भने बिगोमध्ये खर्च भएको ९ करोड ८८ लाख ४१ हजार ९ सय ५६ रुपैया प्रतिवादीबाट असुलउपर गर्र्न अख्तियारले मागदाबी गरेको विशेष अदालतका सूचना अधिकारी शाखा अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए ।
टेलिकमको नयाँ विलिङ्ग प्रणाली खरिदमा अनियमितता भएको आरोप पत्रमा देखिएको रेम्मीले बताए ।