काठमाडौँ – प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे संसदको अवरुद्ध अवस्थाबारे दलहरूप्रति गहिरो असन्तुष्टि प्रकट गरेका छन्।
जेठ १५ गतेको बजेट भाषणपछि अहिलेसम्म प्रतिनिधि सभाको बैठक बस्न सकेको छैन। प्रमुख प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र ‘भिजिट भिसा’ प्रकरणमा छानबिन समिति गठनको माग गर्दै संसद सञ्चालनमा अवरोध पुर्याउँदै आएका छन्।
संसद सञ्चालनमा देखिएको यो अवरोध हटाउन सभामुख घिमिरेले पटक–पटक सत्ता र प्रतिपक्ष दुवै पक्षसँग संवाद गरे पनि सहमति जुट्न सकेको छैन। आज पुनः सभामुखले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, एमालेका प्रमुख सचेतक महेश बर्तौला र कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेसँग छलफल गरेका थिए।
छलफलका क्रममा सभामुख घिमिरेले विगतदेखि जारी संवाद र पहलका बावजुद दलहरूबाट निकासको बाटो नखोजिएकोप्रति गहिरो असन्तुष्टि जनाएका छन्। संसद अवरोधकै कारण बजेटमाथिको छलफल समेत सुरु हुन नसकेको उल्लेख गर्दै उनले संवैधानिक दायरा र व्यवहारिक आवश्यकतालाई ध्यान दिन सबै दलहरूलाई आग्रह गरेका छन्।
आजको छलफलमा माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले विपक्षी दलहरूको बैठक आजै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अगुवाइमा बानेश्वरमा बस्ने जानकारी दिँदै त्यसपछि औपचारिक धारणा दिने बताए।
उता, सत्तारुढ दल एमालेका प्रमुख सचेतक महेश बर्तौला र कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भने गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठनको विपक्षी माग स्वीकार्न नसकिने अडान पुनः दोहोर्याएका थिए।
लगातारको अवरोध र निष्कर्षविहीन संवादका कारण संसदको कार्यसूची अनिश्चित बन्दै गएको छ भने आगामी आर्थिक कार्यक्रम सञ्चालनमा समेत अन्योल बढ्दै गएको छ।