काठमाडौँ – नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले बलियो भनिएको सरकारले ल्याएको बजेट बलियो नदेखिएको बताएका छन् ।
बिहीबार संसद भवन नयाँ बानेश्वमार सञ्चारकर्मीसंग कुरा गर्दै पुनले आकारका हिसावले गत वर्षको तुलनामा ठूलो आएको र बढी छरिएर आएको समेत बताए । अर्थतन्त्र रुपान्तरणका लागि ठोस कुरा आउन नसकेको र अर्थतन्त्रका केन्द्रका चर्चालाई पनि नसमेटिएको उनले बताए ।
उनले भने, ‘समग्रमा भन्दा बलियो भनिएको सरकारले ल्याएको बजेट बलियो देखिएन । आकार अलि ठूलो भयो । गत वर्ष भन्दा १ खर्ब १ अर्ब ठूलो आकारको आएको छ भने अर्को तिर संशोधित अनुमान झन् ठूलो छ । के गर्न खोजिएको हो भन्ने कुरा बजेटमा देखिएन ।’
पुनले गतवर्षका महत्वपूर्ण कार्यक्रमलाई पनि अहिले समेट्न नसकेको र नियमित बजेटको रुपमा मात्रै आएको जिकिर गरे । ‘गत वर्ष बजेटमा हामीले अर्थतन्त्र रुपान्तरणका पाँच क्षेत्र भनेका थियौँ । अहिले कुन क्षेत्र फोकस हो त्यो पनि छैन ।’ उनले भने, ‘सात प्रदेशलाई सात वटा विशेषतामा विकसित गर्ने भनिएको थियो, त्यसबारे पनि केही बोलिएको छैन ।’
गण्डकी त्रिभुजबारे नबोलिएको, आईसीटी र स्टार्टअफमा छरिएर रहेको र अर्थतन्त्रलाई चलायमान बनाउन भन्दा जस्तो त चलाउँ भन्नेजस्तो बजेट आएको बताए । यस्तै उनले विद्युतीय गाडीको करलाई यसअघिकै रुपमा निरन्तरता दिनु राम्रो कुरा भएको बताए ।