काठमाडौँ – नेकपा एमालेले जेठ १५ गते गणतन्त्र दिवसलाई देशव्यापी उत्सवका रुपमा मनाउने निर्णय गरेको छ ।
पार्टी कार्यालय च्यासलमा आइतबार बसेको एमाले सचिवालय बैठकले देशभरका सवैपालीकाका साथै काठमाडौं उपत्यकामा गणतन्त्र दिवसलाई उत्सवका रुपमा मनाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
काठमाडौं उपत्यकाको हकमा सांस्कृतिक झाँकीसहित गणतन्त्र दिवसलाई उत्सवका रुपमा मनाउनका लागि नेपाल जनसांस्कृतिक महासंघलाई कार्यक्रमको संयोजन गर्ने जिम्मेवारी दिइएको उनले बताए । बैठकले गणतन्त्रलाई सवल र सदृढ बनाउन पार्टीले जोड दिएको भन्दै व्यवस्थाबिरुद्ध हुने कुनैपनि गतिविधिहरु एमालेलाई स्वीकार्य नरहेको निष्कर्ष निकालेको पोखरेलले बताए ।
उनले जनताको अधिकारको रक्षा र संरक्षणका साथै गणतन्त्र स्थापनालाई जनताको उत्सवको मनाउनेमा एमालेको ध्यान रहेको उल्लेख गरे ।
महासचिव पोखरेलले विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा चीन भ्रमण गरेको र भण्डारी एमाले आन्दोलनका नेता भएकाले हिसावले उनको टीममा एमालेका नेताहरु रहनु स्वभाविक रहेको जिकिर गरे ।