काठमाडौँ — गत चैत १५ गते राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा अनुसन्धानको घेरामा परेका १०८ जनामध्ये ३४ जनाविरुद्ध मुद्दा नचल्ने भएको छ।


ADVERTISEMENT


काठमाडौं जिल्ला प्रहरी परिसरले झण्डै दुई महिना लामो अनुसन्धानपछि उनीहरूको संलग्नता पुष्टि नहुने निष्कर्षसहित मुद्दा नलगाउने सिफारिस सरकारी वकिलको कार्यालयमा पठाएको हो।


ADVERTISEMENT

# # #


प्रदर्शनमा संलग्न आरोपमा ९० जना पक्राउ परेका थिए भने १८ जना फरार रहेका थिए। पक्राउ परेकाहरूमध्ये अधिकांशमाथि राज्यविरुद्धको अपराध, आपराधिक उपद्रव, संगठित अपराध, र कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दायर गर्न तयारी भइरहेको छ। एक प्रहरी अधिकारीका अनुसार संलग्नताको आधारमा फरक–फरक आरोप लगाइएको छ भने दुर्गा प्रसाईंविरुद्ध कर्तव्य ज्यानसमेतको अभियोग लगाइएको छ।

प्रहरीले अनुसन्धान प्रतिवेदन रायसहित गएको बिहीबार सरकारी वकिल कार्यालयमा बुझाएको थियो। कार्यालयका सूचना अधिकारी चन्द्रप्रसाद सञ्जेलका अनुसार प्रतिवेदनको अध्ययनपछि आइतबार जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गर्ने तयारी भइरहेको छ।

उक्त प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो भने २० जना प्रहरीको गोलीबाट घाइते भएका थिए। थुप्रै प्रदर्शनकारी घाइते भएका थिए। घटनापछि फरार भएका प्रदर्शनका नेतृत्वकर्ता दुर्गा प्रसाईंलाई प्रहरीले भारतको आसामबाट पक्राउ गरी नेपाल ल्याएको थियो। यस प्रकरणमा पक्राउ परेका राप्रपा नेता धवलशमशेर राणा, रवीन्द्र मिश्रलगायत केही व्यक्ति हाजिर जमानीमा छुटिसकेका छन्।