बेनी (म्याग्दी)– रघुगङ्गा गाउँपालिका–७ चिमखोलाकी ८१ वर्षीया सुकुमा नेपालीले तीन वर्षदेखि आँखामा मोतियाबिन्दुको समस्या देखिएपछि राम्रोसँग आँखा देख्न छाडेकी थिइन् । खर्चको व्यवस्थापन र सहरमा पुगेर आँखाको शल्यक्रिया गर्ने चाँजोपाँजो मिलाउन नसकिरहेको समयमा गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित निःशुल्क शल्यक्रियासहितको आँखा उपचार शिविरमा नेपालीले घरआँगनमै सहज रूपमा उपचार गर्ने अवसर पाइन् ।


ADVERTISEMENT


“आँखाले मधुरो देख्ने भएकी थिएँ, सहरमा पुगेर उपचार गराउन पाएको थिइनँ, बुढेसकालमा फेरि आँखा खुल्छन् जस्तो लागेकै थिएन, गाउँमै आएको शिविरमा उपचार गरेपछि अहिले राम्रोसँग देख्न सक्ने भएकी छु”, नेपालीले भनिन् ।


ADVERTISEMENT

# # #


शिविरमा मोतियाबिन्दुको शल्यक्रिया गरेर उपचार सेवा लिएकी रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटकी धनीमाया बुद्धिजाले घरआँगनमै शिविर राखेर गाउँपालिकाले खर्च नगरिकन उपचार गर्ने सुविधा दिएको बताइन् । रघुगङ्गा गाउँपालिका र तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँको प्राविधिक सहयोगमा तीन दिनसम्म सञ्चालन भएको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया शिविरमा ९५ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।

शनिबार सम्पन्न शिविरमा एक सय ६० जनाले आँखा परीक्षण सेवा लिएका छन् । वडास्तर र गाउँपालिकामा आयोजित शिविरबाट एक हजार ३९ जनाले आँखा परीक्षण सेवा लिएको गाउँपालिकाले जनाएको छ । शिविरमा उपचार सेवा लिएकाहरूले गाउँघरमै सहज र सुलभ तरिकाले आँखाको उपचार गराउन पाएकामा नाचगान गरेर खुसीयाली मनाएका छन् । वृद्धवृद्धा अवस्थामा गुम्दै गएको ज्योति शिविरमा चिकित्सकहरूको उपचारपछि फर्किएर उज्यालो देख्न पाएकामा उनीहरूले नाचगान गरेर खुसीयाली मनाएका थिए ।

ग्रामीण र दुर्गम गाउँबस्ती रहेको यस गाउँपालिकाभित्र पालिकाको समन्वयमा तिलगङ्गा आँखा प्रतिष्ठानका स्वास्थ्यकर्मीहरूले वडास्तरमा गरेको आँखा जाँच शिविरमा धेरै जनामा मोतियाबिन्दुको समस्या भेटिएपछि शल्यक्रियासहितको शिविर राखेर निःशुल्क उपचार गर्ने प्रबन्ध गरिएको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले बताए ।

“दुई महिनाअघि वडा नं २ भगवतीमा गरेको शिविरमा मात्र ४८ जनामा मोतियाबिन्दुको समस्या भएका बिरामी पहिचान भएका थिए, त्यसपछि सबै वडामा आँखा जाँच शिविर राख्यौँ, वडास्तरको शिविरबाट एक सय ४६ जनामा मोतियाबिन्दुको पहिचान भयो, ठूलो सङ्ख्यामा मोतियाबिन्दुका समस्या भएका बिरामी भेटिएपछि विशेषज्ञ टोलीलाई पालिकामै ल्याएर उपचार सेवा दिएका हौँ”, गाउँपालिका अध्यक्ष भण्डारीले भने ।

गाउँमै आँखा उपचारको विशेषज्ञ सेवासहित शिविर सञ्चालन भएपछि सर्वसाधारण नागरिकलाई ठूला सहरमा पुगेर आँखाको शल्यक्रिया गर्नुपर्ने बाध्यता र झन्झट हटेको छभने समय र सम्भावित आर्थिक खर्च पनि बचत भएको छ । बिरामीको आँखाको परीक्षण, मोतियाबिन्दुको निःशुल्क शल्यक्रियासहित चश्मा वितरण गरिएको र निःशुल्क एक सातापछि फलोअप सेवासमेत दिने तयारी गरिएको तिलगङ्गा आँखा प्रतिष्ठान अस्पतालका नेत्र अधिकृत मनकृष्ण डङ्गोलले जानकारी दिए ।

शिविरमा बिरामीको दृष्टिसँगै मधुमेह, उच्चरक्तचाप, रगतलगायत परीक्षण र जाँच पनि गरिएको थियो । शिविरमा तिलगङ्गा आँखा अस्पतालका वरिष्ठ नेत्र विशेषज्ञ डा इन्दिरा पौडेल नेतृत्वको नेत्र अधिकृत र स्वास्थ्यकर्मी र रघुगङ्गा गाउँपालिकाका स्वास्थ्यकर्मीसमेतको टोलीले उपचार, परामर्श तथा औषधि वितरण सेवा दिएका थिए । रासस