काठमाडौँ – प्रतिनिधिसभाको उद्योग, वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिका सभापति तथा सांसद् अब्दुल खानले भारत–नेपाल सीमा क्षेत्रमा बाँकी रहेको नाका खोल्न भारतीय जनता पार्टी (भाजपा) का नेता डा. विजय जोलीमार्फत भारतीय सरकारसमक्ष आग्रह गरेका छन्।
खानले डा. जोलीलाई सोमबार एक औपचारिक पत्रमार्फत सन् २००९ मा तत्कालीन प्रधानमन्त्री मनमोहन सिंह र नेपाली प्रधानमन्त्री माधवकुमार नेपालबीच भएको सम्झौताअनुसार भारतको ठुठीबारीदेखि नेपालको बैतडीसम्म खोलिने भनिएका पाँचवटा सीमा नाकामध्ये हालसम्म चारवटा मात्र सञ्चालनमा आएको र बाँकी एक नाका अझै बन्द रहेको बताएका छन्।
उक्त बन्द सीमा नाका विशेषगरी नेपालको बर्दिया जिल्ला र भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लाको सीमामा पर्दछ। खानले भारततर्फको लौकही–राजनवा र नेपालतर्फको गणेशपुर–रत्नपुर क्षेत्रलाई सीमा नाका खोल्नका लागि उपयुक्त स्थानका रूपमा उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘सीमा नाका बन्द रहँदा दुवै देशको सरकारको राजस्व संकलन प्रभावित भएको छ भने स्थानीय जनताले आवागमन, व्यापार, शिक्षा, स्वास्थ्य र पारिवारिक भेटघाटमा कठिनाइ भोगिरहेका छन्। चोरी र घुसपैठ पनि सामान्य हुन थालेको छ।’
सांसद खानले नेपालको प्रतिनिधिसभामा पटक–पटक उठिसकेको यो विषयमा नेपाल सरकार आफैँले आफ्ना भू–भागमा भन्सार कार्यालय खोल्न तयार रहेको जानकारी गराउँदै भारतले पनि अनुकुल स्थानमा भन्सार कार्यालय खोलेर सन् २००९ को सम्झौतालाई कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन्।
पत्रमार्फत खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष यो विषय तत्काल उठाइदिन डा. जोलीलाई अनुरोध गरेका छन्। उनले सीमा तथा भन्सार नाका सञ्चालनबाट दुवै देशबीच व्यापार, सांस्कृतिक आदानप्रदान र सम्पर्क सञ्जालमा उल्लेखनीय वृद्धि हुने विश्वास व्यक्त गरेका छन्।