काठमाडौँ– ०७२ को भूकम्पको क्षतिबाट पुनर्निर्माण गरिएको बारपाकको फोटो प्रदर्शनी र कुण्डलिनी कला प्रदर्शनी आयोजना हुने भएको छ। नेपाल पर्यटन बोर्डको आयोजनामा आगामी जेठ १ देखि ३ गतेसम्म बोर्डपरिसरमा उक्त प्रदर्शनी गर्न लागिएको हो ।
फोटोपत्रकार प्रकाशचन्द्र तिमल्सेनाले खिचेको बारपाकको फोटो प्रदर्शनी हुन लागेको बोर्डले जनाएको छ । नेपालको भावनात्मक गहिराइ, सिर्जनात्मक र प्रेरणादायी प्रदर्शनीहरू गर्न लागिएको बोर्डले जनाएको छ । गोरखा भूकम्पको १० वर्षपछिको स्मृति दिवसका अवसरमा फोटो प्रदर्शनी गर्न लागिएको हो । यो प्रदर्शनीले बारपाकको पुनर्निर्माण र पुनर्जीवनको यात्रालाई प्रभावशाली फोटोहरूको माध्यमबाट चित्रण गर्ने आशा गरिएको छ ।
बोर्डले विभिन्न व्यक्ति र संस्थाहरूको सहकार्यमा नेपालका दृश्य सम्पदा र सामूहिक स्मृतिलाई दस्ताबेज गर्दै आएको उल्लेख गरेको छ । लगत्तै आगामी जेठ ४ देखि १० गतेसम्म पर्यटन बोर्डले कलाकार भीमप्रसाद शर्माको १३औँ एकल कला प्रदर्शनी ‘कुण्डलिनी–२ स् दिव्य जागरणको ऊर्जामार्ग’ प्रस्तुत गर्नेछ ।
ऊर्जा, चेतना र आध्यात्मिक रूपान्तरणको विषयवस्तुलाई आधार बनाउँदै उक्त कला प्रदर्शनीले रंग, रूप र प्रतीकहरूको प्रयोगमार्फत दर्शकहरूलाई आन्तरिक यात्राको सन्देश दिनेछ । यस प्रदर्शनीले ‘ह्यासट्याग फोटोनेपाल’ अभियानमा नेपालको सांस्कृतिक आत्मालाई चित्रकलाका माध्यमबाट विश्वसामु उजागर गर्ने उद्देश्य राखेको छ ।
‘यी दुई प्रदर्शनीहरूले नेपाललाई केवल देखिने मात्र होइन, अनुभव गरिने देशका रूपमा प्रस्तुत गर्छन्,’ बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भने ।