काठमाडौँ – गृहमन्त्री रमेश लेखकले रेशम चौधरीको पक्राउ सम्बन्धमा सही नियतले कानुनको कार्यान्वयन गर्ने मनसाय बाहेक सरकारको कुनै पूर्वाग्रह नरहेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै गृहमन्त्री लेखकले यस अघि अदालतबाट हुने गरेको पत्राचारलाई कार्यान्वयन गरेझै उक्त घटनामा पनि सही नियतले कानूनको कार्यान्वयन गर्ने मनसाय बाहेक कुनै पूर्वाग्रह नरहेको बताएका हुन् । भविष्यमा यसप्रकारका घटना नदोहोरिने तर्फ सबैलाई सजग र सचेत उनले बताए ।
उनले सर्वोच्च अदालतमा कार्यरत एक जना अधिकृतले सामान्य समझ र विवेक बाहिर गई गरेको अनधिकृत पत्र व्यवहारका कारण नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ हुनु परेको घटनाप्रति दुःख व्यक्त समेत गरे । अनधिकृत रूपमा पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टलाई जिल्ला प्रहरी परिसर काठमाडौँले तत्काल पक्राउ गरी झुट्टा जानकारी दिन नहुने, आदेशको अवज्ञा गर्न नहुने र किर्ते गर्न नहुनेसमेतका मुद्दा शीर्षकहरूमा अदालतबाट म्याद लिई अनुसन्धान भइरहेको मन्त्री लेखकले जानकारी दिए ।
त्यस्तै गृहमन्त्री लेखकले तीनकुने क्षेत्रमा पुर्वराजाका सर्मथकले गरेको प्रर्दशनका क्रममा विध्वंशात्मक घटनालाई सरकारले अत्यन्तै गभ्मीरता पूर्वक लिएको बताए । उक्त घटनाका सम्बन्धमा अधिकार प्राप्त निकायबाट अनुसन्धान भैरहेको बताउँदै गृहमन्त्री लेखकले घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिएर विना कुनै पूर्वाग्रह आवश्यक अनुसन्धान र अभियोजनको कार्य भईरहेको सदनमा जानकारी दिए ।
घटनाक्रमलाई विश्लेषण गर्दा यो नियोजित रुपमा आतंक र अराजकता फैलाउने आपराधिक तथा विध्वंशात्मक कार्य हो भन्ने कुरामा विवाद हुनै नसक्ने उनको भनाई छ । उनले संविधान बिपरितको कुनै पनि गतिविधि सैह्य नहुने स्पष्ट पारे ।
गृहमन्त्री लेखकले पश्चिम नेपाल भूकम्पबाट भएको जनधनको क्षतिको राहत, पुर्नस्थापनाका कार्यहरुले पछिल्लो दिनमा प्राथमिकता दिएर तिव्रता दिइएको जानकारी दिए । प्रभावित जिल्लाहरुमा विस्तृत क्षति आंकलनको कार्य अगाडि बढेको बताउँदै उनले हालसम्म जम्मा ३७ हजार ९ सय ३८ घरको विस्तृत क्षति आँकलन सम्पन्न भएको जानकारी दिए । वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमको विषयमा सरकार संवेदनशील रहेको उहाँको सदनमा जानकारी गराए ।