काठमाडौँ– नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरी पक्राउसम्बन्धी घटनाको निष्पक्ष छानविन गर्न माग गरेकी छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै अध्यक्ष श्रेष्ठले बैशाख १७ गते सर्वोच्च प्रशासनको मनोमानीका कारण रेशम चौधरीलाई पक्राउ गरि केहिबेर कारागारमा राखिएको भन्दै निष्पक्ष छानविन गर्न माग गरेकी हुन् ।
‘कसरी एक निर्वाचित प्रतिनिधि, जननेता कार्यक्रम क्षेत्रबाटै पक्राउ पर्छन् ? कसरी राज्यका संयन्त्रहरुले एक व्यक्तिको रिसिबीलाई कानुनभन्दा माथि राख्छन् ?’, उनले प्रश्न गरिन् । यस सम्बबन्धमा गहिरो अध्ययन हुनुपर्ने उनको राय छ ।
रेशम चौधरीप्रति भएको व्यवहारको सार्वजनिक जवाफ समेत आउनुपर्ने उनले बताइन् । अध्यक्ष श्रेष्ठले रेशम चौधरीको गिरफ्तारी एक व्यक्तिको मात्रै विषय नभएको उल्लेख गर्दै यसका कारण समग्र संघीयता, समावेशिता, लोकतन्त्रप्रतिको विश्वासमा चोट लागेको जनाइन् ।
उनले लोकतन्त्रप्रति विश्वास कायम रहदै सत्यप्रति सरकारको जवाफ टुट्न नहुने धारणा व्यक्त गरिन् ।