काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख विपक्षी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमा सीमित आक्रोश सडकमा पोखिन सक्ने बताएका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि सम्बोधन गर्दै उनले वर्तमान सरकारको असंवेदनशीलता, कानुनी दोहोरो मापदण्ड र जनविरोधी कार्यशैलीले सामाजिक सञ्जालमा सीमित जनआक्रोश निकट भविष्यमै सडकमा उत्रिन सक्ने चेतावनी दिएका हुन्।


ADVERTISEMENT

# # #


लोकतान्त्रिक अभ्यासलाई सरकारकै शैलीले कमजोर पारेको प्रचण्डको भनाई छ । ‘सत्तारुढ पक्षका मानिसले कानुन मिच्न पाउने व्यवस्था भएको देशमा, भुइँमान्छेको घरमा विजुली काट्ने अवस्था निन्दनीय छ’, उनले भने।

उनले सरकारको नीति तथा कार्यक्रमलाई औपचारिक, अमूर्त र व्यवहारविहीन भन्दै व्यापक पुनर्विचारको आवश्यकता रहेको बताए।

साथै दश महिनाको कार्यकालमा सरकारले जनताले महसुस गर्न सक्ने खालको कुनै पनि सुधार नगरेको प्रचण्डको आरोप छ। ‘सरकारको गठन नै सीमित वर्गको स्वार्थका लागि भएको पुष्टि हुदै गएको छ’, उनले भने ।

उनले संख्याको आधारमा सरकार देखिएपछि वास्तविक रुपमा सरकार नै नभएको महशुस जनताले गरेको समेत बताए । संख्याको बलमा जनताको मुद्दा सम्बोधन नगरि जवरजस्त गर्न खोजिए त्यसको कडा प्रतिवाद गर्न प्रतिवद्ध रहेको उहाले उल्लेख गरे ।

त्यस्तै प्रचण्डले सरकारको नीति भूमाफिया र विचौलियामुखी भएको आरोप लगाउँदै, आत्मनिर्भर कृषि अर्थतन्त्र निर्माण गर्न उदारवादी नीतिले नपुग्ने चेतावनी दिए । अध्यक्ष प्रचण्डले कृषि, जलश्रोत, वन, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी, संघीयता र सामाजिक न्याय जस्ता राष्ट्रिय प्राथमिकता भएका विषयहरूलाई पृष्ठपोषण गर्न असफल भएको टिप्पणी गरे ।

अध्यक्ष प्रचण्डले नीति तथा कार्यक्रममा व्यापक पुनर्विचारको आवश्यकता रहेको उल्लेख गर्दै, जनमुखी, व्यावहारिक र उत्पादनमुखी कार्यक्रमहरू ल्याउन सरकारलाई सुझाव दिए ।