काठमाडौं — तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न आरोपमा दुर्गा प्रसाईँसहित सात जनाविरुद्ध प्रहरीले ज्यानसम्बन्धी मुद्दा दर्ता गर्ने तयारी गरेको छ। अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले उनीहरूलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।
प्रहरीले विभिन्न मितिमा पक्राउ गरेका दुर्गा प्रसाईँ, सन्तोष कुमार सिलवाल (सन्तोष राजावादी), हरिहर चौलागाईं, सरोज गौतम (तारा राजावादी), गोकर्ण शाही, दण्डपाणि रेग्मी, र हेमराज थारुलाई चैत १५ गते भएका घटनामा संलग्न देखाउँदै अनुसन्धान गरिरहेको छ। तीमध्ये केहीको बयान लिने कार्य बाँकी रहेको प्रहरीको भनाइ छ।
प्रहरीले अदालतमा बुझाएको विवरण अनुसार, प्रतिवादीहरूको बयान, प्रत्यक्षदर्शी र साक्षीको बयान संकलन, फरार रहेका अन्यको खोजी, र घटनासम्बन्धी विभिन्न कार्यालयहरूबाट आवश्यक जानकारी प्राप्त गर्ने जस्ता १९ वटा अनुसन्धान कार्य अझै बाँकी छन्। त्यसकै आधारमा प्रहरीले १५ दिनको म्याद माग गरे पनि अदालतले पाँच दिन मात्र थप गरेको हो।
वैशाख १० र १५ गते गरी दुईपटक म्याद थप गरिएको थियो। पछिल्लो म्यादमा प्रहरीले घटनाको भिडियो विवरण, पत्राचार कागजात, समय तालिका लगायत केही अनुसन्धान कार्य पूरा गरेको जनाएको छ।
प्रतिवादीमध्ये दुर्गा प्रसाईँले क्यान्सरको उपचारको कारण देखाउँदै साधारण तारेख वा हाजिर जमानीमा रिहा हुन निवेदन दिएका थिए। तर, अदालतले उनका विरुद्धको बयान प्रक्रिया अझै बाँकी रहेको भन्दै उक्त निवेदन अस्वीकार गरेको छ। यद्यपि, स्वास्थ्य उपचारमा उचित प्रबन्ध गर्न अदालतले दिएको अघिल्लो आदेशलाई निरन्तरता दिएको छ।
अदालतले बाँकी अनुसन्धान छिटो सम्पन्न गर्न संगठित अपराध निवारण ऐन, २०७० को दफा १४ अनुसार म्याद थप गरेको हो।