जनकपुरधाम — जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेतृ डा. बबी सिंह यादवले डान्स गर्दै पड्काएको पेस्तोल बरामद भएको छ ।
प्रहरीका अनुसार, सर्लाहीको मलंगवा नगरपालिका–२ स्थित अन्जनी कुमारको घरबाट उक्त पेस्तोल फेला परेको हो।
नेतृ सिंहले एक विवाह समारोहमा डान्स गर्दै पेस्तोल पड्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । लगत्तै प्रहरीले यस सम्बन्धमा अनुसन्धान थालेको थियो । यद्यपि सिंहले भने उक्त पेस्तोल खेलौना (नक्कली) भन्दै आफ्नो बचाउ गरेकी थिइन् । यस सम्बन्धमा पनि प्रहरीले अनुसन्धान गरिएको जनाएको छ ।
प्रहरीका अनुसार पेस्तोल भेटिएको घरका धनी अन्जनीलाई बयानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। यसैबीच, डा. बबी सिंहलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा बोलाइएको छ। सप्तरीका एसपी ढकेन्द्र खतिवडाका अनुसार नेतृ सिंहसँग प्रारम्भिक बयान लिइएको छ र कागज गराएर तत्कालका लागि छाडिएको छ।
एसपी खतिवडाले पेस्तोल नक्कली हो वा सक्कली भन्ने विषयमा परीक्षण नगरी निष्कर्षमा पुग्न नसकिने बताए। सर्लाहीबाट बरामद गरिएको पेस्तोल विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि काठमाडौं पठाइने छ र त्यसको रिपोर्टपछि थप निर्णय गरिने जनाइएको छ।