काठमाडौँ– दोलखाको लामाबगर–लप्ची फलाक नाकाबीचको सडक निर्माण नहुदा सो नाकाबाट हुने नेपाल–चीनबीचको व्यापार कारोवार नै रोकिएको छ ।
चीन, नेपाल र भारतजोड्ने छोटो सडक मार्गका रुपमा चर्चा पाउँदै आएको दोलखाको लामाबगर लप्ची फलाक नाका सडक निर्माणका लागि स्थानीयले पटक पटक सरकारसंग माग गर्दा समेत निर्माण हुन नसकेपछि नेपाल–चीनबीचको व्यापार कारोवार नै रोकिएको हो ।
चीन सरकारले तिव्वतसंग जोडिएको लप्ची फलाक नाका खोलेपनि सडक सञ्जाल नहुदा व्यापारिक कारोवार भने हुन नसकेको स्थानीयहरुले जनाएका छन् । सो नाकालाई नेपाल, भारत र चीन त्रिदेशीय नाकाको रुपमा पनि उत्तर दक्षिण सवैभन्दा छोटो मानिन्छ ।
दोलखादेखि सिंगटीसम्मको सडक स्तरोन्तनी र सिंगटीदेखि लामाबगरसम्मको सडक निर्माणको सम्पूर्ण काम माथिल्लो तामाकोशी जलविधुत आयोजनाले गरेको छ भने लामाबगरभन्दा माथिल्लो क्षेत्रमा पनि अन्य जलविद्युत आयोजनाहरुले नै सडक निर्माण गरिरहेका छन् ।
लामाबगरदेखि थाम्चेम्बुसम्म २० किलोमिटर सडक खण्डमा कठिन भीर र सुरुङमार्ग रहेका छन् । ११ मिटर सुरुङमार्गसहित खराने खोला हुदै हाल हुरहुरेसम्म गाडीमा जान सकिन्छ । तर त्यसभन्दा माथि अर्को कठिन भीर हुरहुरेमा सडक निर्माणको काम पनि जलविद्युत आयोजनाहरुले गरिरहेका छन् ।
उक्त सडक र नाकाको भौगोलिक अवस्था अध्ययन र अवलोकन गर्न दोलखा जिल्लाका पूर्वमन्त्री पार्वत गुरुङ, कांग्रेस दोलखाका सभापति बर्मा लामा, एमालेका दोलखा अध्यक्ष नरवहादुर श्रेष्ठ लगाएत स्थानीय जनप्रतिनिधि र सडक विभाग प्रतिनिधि सो क्षेत्रमा गएका थिए ।
हुरहुरेमा पक्की पुल निर्माण करिव दुइ किलोमिटर ट्रयाक खोल्न सके अस्थायी रुपमा लप्ची फलाक नाका जोड्न सकिने पूर्वमन्त्री पार्वत गुरुङले बताए । नाकासम्म सहज रुपमा आवातजावत गर्न सके स्थानीय उत्पादन चीनमा पुराउन सकिने र चीनबाट आवश्यक सामान नेपाल ल्याउन सहज हुने उनले जनाए ।
त्यस्तै एमालेका दोलखा अध्यक्ष नरवहादुर श्रेष्ठले लामाबगर– लप्ची फलाक नाका सडक निर्माण हुन सके दोलखा लगाएत समग्र मुलुकको समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । । त्यस्तै कांग्रेस दोलखाका सभापति बर्मा लामाले धार्मिक पर्यटकका साथै दुईदेशबीचको व्यापारिक सम्बन्ध थप स्थापीत गर्नका लागि सडक निर्माणका लागि पहल गरिएको सुनाए ।
त्यस्तै सडक डिभिजन, चरिकोटका डिभिजन प्रमुख ईं. अमित कुमार श्रेष्ठले हुरहुरेको कठिन भीर काटेर त्यसक्षेत्रमा पुल निर्माण गर्न सके बाँकी सडक निर्माण गर्न सहज हुने र सडकमार्ग हुँदै नाकासम्म पुग्न सकिने भएकाले त्यसको निरिक्षण गरिएको जानकारी दिए ।
फलाक नाकासम्म सडक विस्तार हुँदा दुई देशबीचको व्यापार विस्तारले मुलुकको अर्थतन्त्रको विकासमासमेत ठूलो टेवापुग्न सक्ने सो क्षेत्रका जनप्रतिनिधिहरुको विश्वास छ ।