मकवानपुर– बागमती प्रदेशका युवा तथा खेलकूदमन्त्री मीनकृष्ण महर्जनले बागमती प्रदेश देशकै खेलकुद हब भएकोले अबको बजेटमा बागमती प्रदेश भित्र आवश्यकता अनुसारको भौतिक पुर्वाधार निर्माणमा जोड दिने बताएका छन्।
उनले हेटौंडा उपमहानगर– १४ स्थित कबर्ड हल भवनको शिलान्यास गर्ने क्रममा सो धारणा व्यक्त गरेका हुन् । सो अवसरमा बोल्दै मन्त्री महर्जनले बागमती प्रदेशका १३ जिल्लामा रहेका पूर्वाधारहरु र सम्पतीका विषयमा आफूले अध्ययन गरिरहेको बताए ।
उनले भने–“हामीले सबै जिल्लाका पूर्वाधारहरु सम्पतीको खोजी गरीरहेका छौं र ति कस्तो अवस्थामा छन त्यस्को जानकारी समेत लिने काम शुरु गरेका छौं ।” खेलाडीहरुका लागि छात्राबास र मार्सल आर्टकोे सुविधा सम्पन्न भवन निर्माणको योजना आफूले बनाएको मन्त्री महर्जनको दाबी छ । गौरीटार रंगशाला भित्र निर्माण भएका पुर्वाधारहरुको उचित उपयोग हुन नसकेकोप्रती मन्त्री महर्जन इंगित गर्दै भने–“यहाँका खेल पुर्वाधारहरु मनोमानी ढङले चलेका छन् भन्ने मैले सुनेको छु, यो खेलाडी उत्पादन गर्ने ठाउँ हो न की धनी व्यक्तीहरुले भुँडी घटाउने ठाउँ ।”
विगतमा सामाजिक विकास मन्त्रालय भित्र खेलकूद रहेपनि अहिले खेलकूद मन्त्रालय छुट्टै भएकाले खेल क्षेत्रलाई व्यवस्थित विकासका लागि काम गर्ने मन्त्री महर्जनले प्रतिवद्धता व्यक्त गरे । उनले खेलकुद सँगै यूवा स्वरोजगार कार्यक्रमलाई समेत व्यवस्थित रुपमा अघि बढाउने बताए । जिल्ला जिल्लामा रहेका खेलकुदका भौतिक सम्पतीलाई खेलाडी र यूवाको उपयोगमा ल्याउने गरी योजना अघि सारिएको उनको भनाई छ ।
हेटौंडा उपमहानगरपालिकाले हाल लाई २५ बिनियोजन गरेको उक्त कबर्ड हल लागतमा रु ३ करोड रहेको छ। उक्त कबर्ड हल आगामी १ बर्ष भित्रमा निर्माण गरिसकिने प्रदेश खेलकूद परिषद्का सदस्य सचिव दिपक लामाले बताएका छन । उनले भने–“खेलकूद परिषद्को युनिक बक्सिङ क्लब भवनको आज शिलान्यास हुनु हाम्रा लागि खुशीको दिन हो ।”