काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको छ ।
आइतबार काठमाडौंमा सम्पन्न राप्रपा केन्द्रीय कार्यसमिति बैठकले एमाले–कांग्रेसको गठबन्धनको वर्तमान सरकार पूणरुपमा असफल भएको निष्कर्ष निकालेको राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए । आर्थिक गतिविधिलाई चलाउनमान बनाउन, रोजगारी सिर्जना गर्न, भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण गर्न, मूल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल भएको उनले बताए ।
राजनीतिक स्थायीत्व र संविधान संशोधनका लागि भन्दै बनेको सरकार आफ्नो उद्देश्यबाट च्यूत भएको राप्रपाको निष्कर्ष छ । त्यस्तै बैठकले कांग्रेस–एमाले दुईदलीय सर्वसत्तावादतर्फ उन्मुख हुँदै गएको संकेत देखापरेको ठहर गर्दै संसदलाई छलेर अध्यादेश ल्याइनु दुई दलीय सर्वसत्तावादको प्रारम्भीक अभ्यासको रुपमा रहेको देखिएको लिङ्देनले बताए ।
बैठकले पार्टीको आफ्नो राजनीतिक एजेण्डा र जनजिवीकाका पक्षमा आगामी दिनमा सडक र सदनमा सशक्ता र प्रभावकारी ढंगले प्रस्तुत हुने निर्णय गरेको उनले जानकारी दिए । उनले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएपनि ८४ सम्म सरकारमा नजाने प्रष्ट पारे । लिङदेनले पार्टी एकतावद्ध भएर अघि बढ्ने बताए ।
राप्रपा बैठकले महाधिवेशन गर्न बाँकी रहेका पार्टीका भातृ संगठनहरुको महाधिवेशन २०८१ चैत्र मसान्तसम्म सम्पन्न गर्न निर्देशन दिएको छ भने समान बिचार भएका व्यक्ति, समूह र दलसंग सहकार्य र मोर्चा निर्माण गर्न राप्रपाले संवाद र सहकार्यको प्रयासलाई निरन्तरता दिने निर्णय गरेको छ ।