काठमाडौं-सवारी अनुमतिपत्र विना सवारीसाधन चलाउन कठिन छ भन्ने विषय भक्तपुरमा ७० वर्र्षीय वृद्धले पनि लाइसेन्स लिएपछि प्रमाणित भएको छ ।
विगत ४० वर्षदेखि साइकलमार्फत हिडडुल गर्ने सूर्यविनायक नगरपालिका ७ गुण्डुका पूर्णबहादुर बस्नेतलाई अब स्कुटरमा यात्रा गर्न सहज भएको छ । केही वर्षदेखि स्कुटरमा यात्रा गर्न थाले पनि अनुमतिपत्र नहुँदा असजिलो भएको थियो । अनिवार्य बन्दै गएको बुझेर नै उनले त्यसका लागि प्रक्रिया थालेका थिए । बस्नेतले शुक्रबार सवारी अनुमति प्रमाणपत्र लिएपछि भने ढुक्क भएका छन् ।
‘जीवनका ४० वर्ष साइकल चलाएको हुनाले स्कुटर सजिलैसँंग चलाउँथे,’ बस्नेतले भने,“छोरा महेश बस्नेतले पनि अनुमतिपत्रबिना स्कुटर नचलाउनु भनेपछि सवारी अनुमतिपत्र लिन अनिवार्य बनेर र प्रक्रिया अगाडि बढाए ।”
पूर्णबहादुर बस्नेत पूर्व उद्योगमन्त्री तथा हाल भक्तपुर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी महेश बस्नेतका बुबा हुन ।‘ नातिनी इन्दिरा बस्नेतले स्कुटर किनेपछि मैले त्यही स्कुटर चलाउन सुरु गरेको थिए तर स्कुटर चलाउन लाइसेन्स चाहिने रहेछ,’ बस्नेतले भने,‘त्यसैले भक्तपुरस्थित इजि वे ट्रायल सेन्टरमा एकसाताको क्लास लिएपछि एकैपटकमा लिखित र ट्रायल परीक्षा पास गरे ।”
छोरा महेश बस्नेतले स्कुटर चलाउँदा समस्या परिहाले नेताका बाबुले समेत विना लाइसेन्स सवारी चलाउने भनेर अप्ठ्यारो पर्छ भनेपछि कुरा उचित लागेर एकहप्ता ट्रायल परीक्षा सिकेर अनुमति पत्र निकालेको उनको भनाइ रहेको छ ।
राधेराधेस्थित इजीवे ट्रायल सेन्टरका प्रबन्ध निर्देशक निर्भयबाबु प्रसाइले ७० वर्षीय बस्नेतले एकसाता अघि परीक्षासम्बन्धी ज्ञान लिएपछि पहिलो पटकमै लिखित र प्रयोगात्मक परीक्षा उत्तीण गरेको जानकारी दिएका थिए ।